पार्टी एकताको सुरुवात बाँकेबाटै हुनुपर्छः सभापति देउवा



कोहलपुर ।

नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले नेपाली काँग्रेसमा एकता आवश्यक रहेको बताएका छन् । शनिबार बाँकेको कोहलपुरमा दोस्रो चरणको जनजागरण अभियान अन्तर्गत आयोजित कार्यकर्ता भेला तथा संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । ‘अहिलेको बेला पार्टीमा एकता हुन जरुरी छ’ सभापति देउवाले भने, ‘जबसम्म पार्टीमा एकता हुदैन तबसम्म यस्तै खेल्ने मौका पाउँछन् । त्यसैले यो एकताको सुरुवात बाँकेबाटै हुनुपर्छ ।’ काँग्रेस पार्टीभित्र अनुशासन कायम भएमा नेपाली काँग्रेसको जनतामा विकल्प नहुने उनले दाबी गरे ।

‘पार्टीमा अनुशासन तोड्नेलाई कारबाही हुन्छ हुन्छ’ सभापति देउवाले भने, ‘पार्टीमा एकढिक्का भएमा कसैले हराउन सक्दैन । पार्टीलाई हराउने पार्टीभित्र नै छन् त्यस्तालाई कारबाही गर्नुपर्छ ।’ नेपाली काँग्रेसको अगुवाईमा मुलुकमा ठुला ठुला राजनीतिक परिवर्तन सम्भव भएको भन्दै उनले काँग्रेसकै कारण मुलुकमा सबै जनताको अधिकार स्थापित भएको ठोकुवा गरे । समावेशीकरण र आरक्षणको नमूना पार्टी काँग्रेसले अघि सारेका एजेण्डा जनमुखी रहेको सभापति देउवाको भनाई रहेको थियो । पुर्व प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवाले वर्तमान सरकारको चर्को विरोध गरेका थिए । उनले कम्युनिष्ट गुण्डागर्दी तत्काल नरोकिए काँग्रेसले शसक्त प्रतिकार गर्ने चेतावनी दिए । केही दिन अघि नेकपाका कार्यकर्ताहरुले गुण्डागर्दी शैलीमा काँग्रेसको कार्यक्रममा आक्रमण गरेर अप्रजातान्त्रिक गतिविधी मच्चाउने गुण्डाहरुलाई प्रशासनलाई तत्काल पक्राउ गर्न सभापति देउवाले माग गरे ।

खजुरामा काँग्रेसले गरेको शान्तिपूर्ण कार्यक्रममा गुण्डागर्दी शैलीमा प्रवेश गरेर आक्रमण गर्दै बाँके काँग्रेस सभापति किरण कोइरालाको हात भाँच्ने नेकपा कार्यकर्ताहरुको विरुद्धमा जाहेरी दिँदा पनि प्रहरी यो घटनामा संवेदनशील नबनेको उनले आरोप लगाए । ‘यदि प्रशासनले यो घटनालाई गम्भिरतापूर्वक नलिए काँग्रेसले त्यस्ता राजनीतिक आडमा अप्रजातान्त्रिक गतिविधी गर्ने तत्वलाई ठेगान लगाउन तयार छ’ उनले भने । ‘प्रहरी प्रशासन कुनै पनि राजनीतिक दल निकटको नभई आफ्नो उत्तरदायित्व वहन गर्नतर्फ लाग्नुपर्छ, जनताको करबाट पारिश्रमिक बुझ्ने प्रहरी अधिकृत तथा सिडियोले संविधान र ऐन बमोजिम कार्यसम्पादन गर्नुपर्छ’ सभापती देउवाले भने, ‘बाँके घटनामा संलग्नहरुलाई कारवाही नभएसम्म काँग्रेसले कडा रुपमा प्रतिवाद गर्ने छ ।’

नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमितिको संयोजनमा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरे तीन दर्जनभन्दा बढी कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका थिए । उनीलाई काँग्रेस सभापति देउवा लगायतले पार्टीमा स्वागत गरेको क्षेत्रीय सभापति माधवराम खत्रीले जानकारी दिए । शनिबार नै बाँकेको नेपालगञ्जमा काँग्रेसले आयोजना गरेका विभिन्न कार्यक्रममा सभापति देउवा सहभागि भएका थिए । पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाटमा बोल्दै उनले अहिले कम्युनिष्टहरुमा दुई तिहाईको भुत चढेको जिकिर गरेका थिए । उनले कम्युनिष्टहरुको सरकार जनताप्रति उतरादायी भन्दा पनि उदण्ड भएको समेत आरोप लगाए । कार्यकर्तालाई सम्बोधन गर्नुअघि सभापति देउवाले नेपालगन्जस्थित विपी चोकमा शनिबार दिउँसै दीप प्रज्वलन गरेका थिए । बाँकेको सितापुरमा भएको घटनामा न्यायका लागि अन्धकारमा रहेको सरकारलाई आँखा देखाउन ब्यंग्यात्मक रुपमा दीप प्रज्वलन गरिएको हो ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ २९ गते आइतबार