कोहलपुर ।
इलाका प्रहरी कार्यालय कोहलपुरले विद्यार्थीहरुलाई लागुऔषध विरुद्ध प्रशिक्षण दिएको छ । नेपाल रेडक्रस दिवसको अवसरमा बुधबार प्रहरीले विद्यार्थी तथा शिक्षक, शिक्षिकालाई लागुऔषध विरुद्ध प्रशिक्षण दिएको हो । नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरको आयोजनामा दिवसको अवसरमा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले प्रशिक्षण दिएका थिए ।
प्रहरीका अनुसार रेडक्रस दिवसको अवसरमा नगरपालिका भित्र रहेका विभिन्न १५ विद्यालयका शिक्षक शिक्षिका, कक्षा ९ देखि १२ सम्मका एक सयभन्दा बढी विद्यार्थीहरु, जुनियर युवा रेडक्रस सर्कलका पदाधिकारीहरु प्रशिक्षण दिइएको थियो । प्रहरी नायब उपरीक्षक शाहीले समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप लागुऔषध दुर्व्यसन सम्बन्धी जनचेतनामुलक प्रशिक्षण प्रदान गरिएको बताए ।
उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरका सभापति नारायण प्रसाद गौडेल, सामुदायिक सेवा केन्द्रका सचिव लाल बहादुर राना, शिक्षक, विद्यार्थी प्रहरी लगायतको सहभागिता रहेको थियो ।