उद्धार कक्षमै मर्यो बुढो पाटेबाघ



सुदीप अधिकारी । बर्दिया ।

बस्तीमा पसेर मान्छे मारेको बाघको सोमबार मृत्यु भएको छ । बस्तीमा मान्छे मारेर निकुञ्जमा छिरेको बाघलाई निकुञ्ज प्रशासनले १० दिन अघि निकुञ्जबाटै नियन्त्रणमा लिएको थियो । उक्त बाघ धेरै बुढो र अशक्त भएकाले निकुञ्ज प्रशासनले रेश्क्यू सेन्टरमा (उद्धार कक्ष) राखेर रेखदेख गर्दै आएको थियो । रेश्क्यू सेन्टरमा रेखदेख तथा उपचार गर्दागर्दै बाघ मरेको निकुञ्जले जनाएको छ । दश दिन अघि बारीमा सुंगुरलाई आहार हाल्न गएका ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँ खानेपानी टोलका ७० वर्षीय पहरिया थारु यो बाघले बारीमै आक्रमण गरि मारेको थियो ।

घटना पश्च्यात बाघलाई निकुञ्ज प्रशासनलाई करिव २६ घण्टा कडा मेहनत गरेर नियन्त्रणमा लिएको थियो । बाघलाई डार्ट ( लठ्याउने सुई ) गरेर नियन्त्रणमा लिइएको हो । यो बाघ निकै बुढो भइसकेकाले निकुञ्जमा शिकार गर्न नसकेर लामो समयदेखि भोको र अशक्त रहेको निकुञ्ज प्रशासनले बतायो । नियन्त्रणमा लिइएको यो बाघ नमरुञ्जेल निकुञ्ज प्रशासनकै रेखदेखमा रेश्क्यू कक्षमै राखेर रेखदेख तथा उपचार गरिने निकुञ्जले बताएको थियो । निकुञ्जका वन्यजन्तु प्राविधिकहरुका अनुसार यो पोथी बाघ करिव १४÷१५ वर्षको थियो । सामान्यतयाः पाटेबाघको आयु १५ देखि २० वर्ष मानिन्छ । १० दिनसम्म रेश्क्यू सेन्टरमा रहेको बाघको अवस्था दिनानुदिन दयनिय बन्दै गएको थियो । बुढो भएकाले बाघका नंग्रा र दाँत पनि खिइसकेको थियो । त्यो बाघलाई जंगलमा राख्न उपयुक्त नभएकाले नियन्त्रणमा लिएर निकुञ्जको उद्धार कक्षमा राखिएको थियो ।

‘ बाघ निकै कमजोर अवस्थामा थियो । रेश्क्यू सेन्टरमा राखेपछि केही दिनमा तंग्रिन्छ कि भन्ने आश थियो । तर तंग्रिएन । मर्यो । ’ बाघको मृत्यु बारे बताउँदै सहायक संरक्षण अधिकृत अशोक भण्डारीले भने । गेरुवा गाउँपालिका–४ गोला गाउँकी ५६ वर्षीया रामकली शाहीलाई मार्ने बाघ अझैपनि भेटिएको छैन । बाघलाई नियन्त्रणमा लिन निकुञ्जको कर्णाली तटिय क्षेत्रमा ठाउँठाउँमा क्यामेरा ट्यापिङ्ग गरेर बाघको खोजी भइरहेको सहायक संरक्षण अधिकृत भण्डारीले बताए । शाहीलाई मार्ने बाघ बच्चासहित रहेको भन्ने पहिचान भइसकेको उनले बताए । ४÷५ जनाको समूहमा सामुदायिक वन नजिकैको खोला किनारमा घाँस काट्दै गर्दा शाहीलाई बाघले आक्रमण गरेको थियो । पछिल्लो समय बर्दिया राष्टिय निकुञ्ज मध्यवर्ती क्षेत्रका जनता निकुञ्जका वन्यजन्तुबाट निकै त्रसीत छन् ।

निकुञ्जका बाघ, गैँडा र हात्ती लगाएतका वन्यजन्तु निकुञ्ज छाडेर बस्तीमा छिर्न थालेपछि यहाँका जनता निकै आतंकित भएका छन् । वन्यजन्तुबाट यहाँका २ दर्जन बढी गाउँ प्रभावित छन् । निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने रम्मापुर, ढकेला, सैनवार, डुम्रेनी, भुरिगाउँ, रानीपुर, प्रतापुर, बलाती, कर्मला, आम्बासा, मोतिपुर, शिवपुर, मढेला, ठाकुरद्धारालगाएतका गाउँबस्तीमा वन्यजन्तुको आतंक बढेको छ । निकुञ्ज छाडेर वन्यजन्तु सामुदायिक वनमा पस्ने गर्छन् । निकुञ्जबाट सामुदायिक वनमा पसेको गैँडाको आक्रमणबाट शनिबार बारबर्दियाका ३ जना स्थानिय घाइते
भए । निकुञ्जबाट बस्ती पसेका जंगली हात्तीले मध्यवर्ती क्षेत्रका बासीन्दाको बालीनालीको नोक्सान गर्दै आएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ १८ गते बुधबार