12 September 2024  |   बिहिबार, भदौ २७, २०८१

‘समाज रुपान्तरणमा पुस्तकालयको भूमिका अहम्’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, भदौ १६, २०७६  

कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रले भव्य समारोहकाबीच साधारण सभा तथा पुस्तकालय दिवस विशेष कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको १८ औं वार्षिक साधारण सभा तथा १२ औं राष्ट्रिय पुस्तकालय दिवसको सन्दर्भमा आयोजित कार्यक्रमको उद्घाटन नेपाल सरकारका शहरी विकास मन्त्री मोहम्मद ईस्तीयाक राईले गरे । मन्त्री राईले समाज रुपान्तरणमा पुस्तकालयको भूमिका अहम हुनेमा जोड दिए । ज्ञानोदय पुस्तकालयको समग्र विकासमा आवश्यक सहयोग गर्ने प्रतिबद्वता जनाउँदै पुस्तकालयले समाज परिवर्तनमा महत्वपूर्ण योगदान रहेको बताउँदै पुस्तकालयको चर्चा समेत गरे ।

यस्तै मन्त्री राईले बाँके जिल्लाको विकास र समृद्विका लागि आफु प्रतिवद्ध रहेको बताए । उनले समग्र बाँकेको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउँदै कोहलपुरदेखि जमुनासम्मलाई व्यापारिक केन्द्रका रुपमा विकास गर्न दिर्घकालिन योजना बनाईएको जानकारी दिए । साथै उनले कोहलपुर विकासन्मुख शहर भएकाले ठुला ठुला भौतिक पूर्वाधार निर्माण गर्नका लागि पहल गर्ने प्रतिवद्वता जनाउँदै कोहलपुरको विकासका लागि स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकार बिच सहकार्य हुन आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले पठन संस्कृतिको विकास हुन आवश्यक रहेको बताउँदै स्थानिय सरकारले कोहलपुरको शैक्षिक विकासका लागि विशेष पहल गर्ने प्रतिबद्वता जनाए ।

कार्यक्रममा बोल्दै नेपाल सामुदायिक पुस्तकालय संघका केन्द्रीय उपाध्यक्ष जयश्वर पौडेल सामुदायिक पुस्तकालय संघले ज्ञानोदय पुस्तकालयलाई पश्चिम क्षेत्रकै व्यवस्थित पुस्तकालयका रुपमा लिएको बताउँदै यसको विकास र समृद्विका लागि स्थानिय सरकारले विशेष जोड दिनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस नगर सभापति बलाराम शर्माले ज्ञानोदय सामुदायिक पुस्तकालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउन सबै लाग्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका अध्यक्ष चेतकान्त भट्टराईले पुस्तकालयलाई आजको बैज्ञानिय युग अनुसार विकास र विस्तार गर्दै सूचना सञ्चार मैत्री बनाउन लागिपरेको बताए । कार्यक्रममा “स्व. हरि प्रसाद पौडेल ज्ञानोदय समाज सेवा सम्मान” बाट कोहलपुर मेडिकल कलेजका निर्देशक सुरेश कुमार कनोडिया, पुस्तकालयलाई सहयोग गर्ने तर्फ पूव अध्यक्ष एवम् नेपाल सामुुदायीक पुस्तकालय संघका केन्द्रीय उपाध्यक्ष जयश्वर पौडेल सुमन, पुस्तक दाता तर्फ सनत रेगमी र नियमीत पाठकका रुपमा प्रेम नारायण पौडेललाई सम्मान गरिएको छ । पुस्तकालय दिवसको सन्दर्भमा आयोजित सप्ताहब्यापी कार्यक्रम अन्र्तगतको माध्यामिक विद्यालय स्तरको चित्रकला प्रतियोगितामा उत्कृष्ठ विद्यार्थी तथा विद्यालयहरुलाई समेत प्रमाण पत्र सहित पुरस्कृत गरिएको थियो ।

नेपाल सरकारको राष्ट्रिय पर्व पुस्तकालय दिवस मनाउने सरकारको निर्णय अनुसार जिल्ला स्तरमा आयोजना भएका कार्यक्रमभन्दा ज्ञानोदयको कार्यक्रम फरक र उत्कृष्ठ रहेको कार्यक्रमका सहभागिता तथा वक्ताहरुले चर्चा समेत गरे । यस्तै कार्यक्रममा सरुवा भएर बाँकेबाट जान लागेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल र सहायक जिल्ला अधिकारी मोहन अर्याललाई आगामी कार्यकाल सफलताको शुभकामना दिँदै सम्मान तथा विदाई समेत गरिएको थियो । कार्यक्रममा स्थानिय जनप्रतिनिधि, समाजसेवि, शिक्षाप्रेमी, राजनीति दलका प्रतिनिधि, समाजसेवि लगायत पुस्तकालयका सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः सोमवार, भदौ १६, २०७६     12:12:09 PM  |