सुदीप अधिकारी । बर्दिया ।

जिल्लास्थित एक स्थानिय तहले यहाँका ज्येष्ठ नागरिकहरुलाई नि ः शुल्क स्वास्थ्य परिक्षणको सुविधा उपलब्ध गराएको छ । ठाकुरबाबा नगरपालिकाको वडा नं १ ले आफनो सेवा क्षेत्र भित्रका ज्येष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य ल्याब परिक्षण सेवा उपलब्ध गराएको हो । यो सेवा अन्र्तगत ६० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकहरुलाई बाथ रोग, मधुमेह र पिसावमा प्रोटिनको मात्र जाँच गरि ३ वटा रोगको ल्याब परिक्षण निशुल्क गराइने बताइएको छ । वडाका ज्येष्ठ नागरिकहरुले वर्षमा वढीमा २ पटकसम्म आफुलाई पायक पर्ने समयमा बाथ, मधुमेह र मृगौला रोगको ल्याब परिक्षण गराउन सक्ने छन् ।
स्वास्थ्य परिक्षणका लागि स्थानिय नेउलापुर स्वास्थ्य चौकीमा ल्याबको व्यवस्था गरिएको वडा कार्यालयले जनाएको छ । यो सेवाका लागि वडा कार्यालयले यस आर्थिक वर्षमा १ लाख २० हजार खर्च छुट्याएको वडा नं १ का वडाध्यक्ष श्यामलाल थारुले जानकारी दिए । ल्याब सेवाका लागि २ जना कर्मचारीको व्यवस्था गरिएको उनले बताए । ज्येष्ठ नागरिकहरुको अभिभावकत्व ग्रहण गर्न यो सेवा संचालन गरिएको वडाध्यक्ष थारुले बताए । यस अघि जो कोहीलाई पनि बाथ, मधुमेह र मृगौलाजस्ता दिर्घरोगहरुको परिक्षणका लागि यहाँबाट कोहलपुर, नेपालगंजलगाएतका ठूला शहरमा जानु पर्ने वाध्यता थियो । वडा कार्यालयले यो सेवा घरदैलोमै दिने भएपछि बृद्धबृद्धाहरुलाई रोग परिक्षणका लागि टाँढा जानु पर्ने बाध्यता हटेको छ । आफनै घरआगनमा यि रोगहरुको परिक्षण हुने भएपछि स्थानिय तथा ज्येष्ठ नागरिकहरु खुशी भएका छन् । ‘ स्वास्थ्य जाँच गराउन टाँढा जानुपर्ने बाध्यता थियो । पैसा पनि धेरै खर्च हुन्थ्यो । अब त घरमै बसेर सित्तैमा जाच गराउन पाइने भयो ।
असाध्यै राम्रो भयो,’ ज्येष्ठ नागरिक इन्द्रलाल पौडेलले खुशी हुँदै भने । नेपाल सरकारले हाल मृगौला डायलसिस, मुटुरोग, क्यान्सर, सिकलसेल, मृगौला प्रत्यारोपणलगाएत ८ वटा जटिल रोगहरुको उपचारमा रु १ लाख बराबरको सहुलियत प्रदान गर्दै आएको छ । राज्यले केन्द्रबाट दिएको सुविधामा वडा कार्यालयबाट थप सुविधा प्राप्त हुँदा स्थानीयबासी तथा ज्येष्ठ नागरिक निकै खुशी भएका छन् । घर परिवारबाट उचित स्वास्थ्य हेरचाह नपाएका ज्येष्ठ नागरिक वडा कार्यालयको यो सेवाबाट झनै लाभान्वित हुने नेउलापुर स्वास्थ्य चौकीका सिनियर अहेव विष्णु ज्ञवाली बताउँछन् । वडा कार्यालयले आगामी दिनमा ज्येष्ठ नागरिकहरुको स्वास्थ्यका अन्य सेवाहरुपनि बिस्तार गर्दै जाने योजना रहेको वडाध्यक्ष श्यामलाल थारुले बताए । उनले आगामी दिन स्वास्थ्य परिक्षण सेवा विस्तारका साथै केही रोगको परिक्षण मात्र नभएर असहाय, विपन्नहरुको औषधी खर्च समेत व्यहोर्ने गरि योजना बनाउने सोच रहेको बताए ।