उत्तरपुस्तिकामा आगलागी प्रकरण, छानविन गर्न माग गर्दै विद्यार्थी आन्दोलित



कोहलपुर ।

केही दिनअघि जिल्ला प्रहरी कार्यालय बाँकेमा भएको आगलागीको बारेमा सत्यतथ्य छानविन गर्न विद्यार्थीहरुले माग गरेका छन् । कार्यालय रहेको भवनको एक कोठामा शनिबार मध्यराती आगलागी हुँदा उत्तरपुस्तिका र प्रश्नपत्रहरु जलेका थिए । प्रहरी कार्यालयमा सुरक्षाका लागि राखिएका उत्तरपुस्तिका जलेपछि नेपालगञ्जमा रहेका नेपालगञ्ज हेल्थ कलेज र भेरी टेक्निकल कलेजका विद्यार्थीहरु आन्दोलित भएका हुन् । विद्यार्थीहरुले सुरक्षा घेराभित्र नै उत्तरपुस्तिकामा आगलागी भएको बिषयमा उचित छानविन हुनुपर्ने माग राख्दै मंगलबार दिनभर प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् (सिटिईभिटी)को प्रदेश ५ को सम्पर्क कार्यालय कोहलपुरमा धर्ना दिएका थिए । उत्तरपुस्तिका जलेको लामो समयसम्म समेत आफुहरुलाई जानकारी नगराइएको भन्दै उनीहरुले आक्रोश पोखेका थिए ।

विद्यार्थी शान्ति चौलागाईले प्रहरीको सुरक्षा घेरामा राखिएका उत्तरपुस्तिका कसरी जलेका हुन् भन्ने प्रश्न गर्दै लामो समयसम्म घटनाबारे जानकारी नदिएर कलेज प्रशासनले आफुहरुको भविश्यमाथि खेलबाड गरेको बताइन् । ‘हाम्रो उत्तरपुस्तिका जल्दा समेत हामीलाई किन खबर गरिएन’ उनले भनिन्, ‘प्रहरी कार्यालय, विद्यालय प्रशासनका बिरुद्धमा हामी आन्दोेलनमा उत्रिएका हौं ।’ आगलागीको कुनै छानविन बिना नै सिटिईभिटीले लुकिछिपी पुनः परिक्षा गराउने तयारी भईरहेको भन्दै विद्यार्थी चौलागाईले कुनै पनि हालतमा पुनः परिक्षामा सामेल नहुने चेतावनी दिइन् । प्रहरी कार्यालय जस्तो सुरक्षित स्थानमा समेत विद्यार्थीको भविश्य नै अन्धकारमा पर्ने गरी उत्तरपुस्तिकामा जल्नु गम्भिर बिषय भएको अर्का विद्यार्थी मोहमद निजामुद्धिन खानले बताए । ‘उत्तरपुस्तिका जलेको विषयमा छानविन गरेर सत्यतथ्य सार्वजनिक गर्नुपर्छ’ उनले भने, ‘पुनः परिक्षा समेत गर्न पाइदैन र परिक्षा गरेको खण्डमा दुवै कलेजका विद्यार्थी सहभागि हुने भन्दै आन्दोलनमा उत्रिएका हौं ।’

विद्यार्थीहरुले ‘हामीलाई हाम्रो रिजल्ट चाहियो, विद्यार्थीको भविष्य माथि खेलवाड गर्न पाईदैन’ जस्ता नारा लगाएका थिए । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटी)को प्रदेश ५ को सम्पर्क कार्यालय कोहलपुरका उप– निर्देशक अम्मर बहादुर घर्तीमगरले जिल्ला प्रहरी कार्यालयबाट भाद्र ७ गते राती उत्तरपुस्तिका जलेको सुचना आएको जानकारी दिए । उनका अनुसार त्यसपछि जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र कार्यालयको बैठक बसी पुनः परिक्षा मिति तोक्नको लागि सिफारिस गरिएको छ । उप–निर्देशक घर्तीमगरले सभ्भवत बुधबार (आज) केन्द्रीय कार्यालयले परिक्षाको मिति तोक्नेछ । यता जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक बीर बहादुर ओलीले सिटिइभिटी अन्र्तगतका फार्मेसी र ल्याब टेक्निसियन विषयको उत्तरपुस्तिका जलेको जानकारी दिए ।

उनका अनुसार शनिबार मध्यराती विद्यूत् सर्ट भएर आगलागी भएको थियो । ‘ड्युटीमा रहेका प्रहरीले जलेको थाहा पाएपछि विद्युत सर्ट भएर आगलागी भएको रहेछ’ उनले भने, ‘तत्काल थाहा भएकोले ठूलो क्षती हुन पाएन ।’ उक्त कोठामा प्रहरको लागि आवश्यक गोली, गठ्ठा, उत्तरपुस्तिका र प्रश्नपत्रहरु राखिएका थिए । प्रहरी उपरीक्षक ओलीका अनुसार टिएसएलसी अन्तर्गतका ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स र सिभिल सव–ओभरसियर सहित पाँच संकायका केही उत्तरपुस्तिका जलेका छन् । कार्यालयको प्रबन्ध शाखामा राखिएका ४१ थान उत्तरपुस्तिका र प्रश्नपत्र जलेका हुन् । बाँकेका प्रहरीका अनुसार सरस्वती मावि परिक्षा केन्द्रका उत्तर पुस्तिकाहरु जलेका छन् ।

प्रकाशित मिति : २०७६ भदौ ११ गते बुधबार