राजापुर भन्सारद्वारा पौने तीन करोड राजस्व असुली



बर्दिया।

बर्दियामा रहेको राजापुर भन्सार कार्यालयले करिब पौने ३ करोड रुपैयाँ राजस्व असुली गरेको छ । बर्दियामा रहेको सबैभन्दा ठूलो मानिने राजापुर भन्सार कार्यालयले गत आर्थिक बर्ष २०७५÷०७६ मा २ करोड ६२ लाख रुपैयाँ राजस्व संकलन गरेको हो । राजापुर भन्सार कार्यालयका भन्सार अधिकृत ओपेन्द्र हमालका अनुसार गत आर्थिक बर्षमा २ करोड ६२ लाख १६ हजार ९ सय ७८ रुपैयाँ राजस्व असुली भएको छ । आर्थिक बर्ष २०७४÷०७५ मा कार्यालयले २ करोड ३६ लाख रुपैयाँ राजस्व असुल गरेको उनले जानकारी दिए ।

‘सबैको प्रयासको कारण पछिल्लो केही बर्षयता राजस्व असुली बढ्दै जान थालेको छ’ उनले भने, ‘हामी पनी स्रोत साधनले भ्याएसम्म भन्सार चोरी पैठारी रोक्न लागिपरेका छन् ।’ कोठियाघाटमा पक्की पुल बनेसँगै यो नाकाबाट भएर व्यवसायीहरुले समानहरु आयात निर्यात गर्न थालिसकेका छन् । अहिले पनी यो नाकालाई तस्करहरुले भन्सार छली गरेर विभिन्न सामानहरु ल्याउन प्रयोग गर्ने गरेको बताइन्छ । भन्सार अधिकृत हमालले भने आफुहरु, नेपाल प्रहरी र शसस्त्र प्रहरीको कारणले भन्सार चोरी पैठारी रोकिएको दाबी गर्छन् ।

‘अहिले पहिलेजस्तो भन्सार चोरी पैठारी छैन’ उनले भने, ‘सुरक्षा निकायहरु लगायतको साथ सहयोगले पूरै निर्मल पार्न नसके पनि धेरै हदसम्म सफल भएका छौं ।’ राजापुर भन्सार कार्यालयबाट प्रेट्रोलियम पदार्थ लगायतका ठूला साम्रगीहरु भारतबाट आयात नहुने भएपनि घरायासी समानहरु भने स्थानीयहरुले ल्याउने गरेका छन् । केही स्थानीय व्यवसायीहरुले ल्याउने सामान र चोरी पैठारीका सामान बरामद गरेर लिलामीबाट गत आर्थिक बर्ष उक्त राजस्व असुली भएको राजापुर भन्सार कार्यालयले जनाएको छ । भन्सार कार्यालयले ठूलो कार्यक्षेत्र भएपनि  दरबन्दी अनुसार कर्मचारी नहुँदा कामकाजमा समस्या हुने गरेको  छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ ७ गते शनिबार