पठन संस्कृतीको विकास गर्न घुम्ती पुस्तकालय



कोहलपुर ।

पठन संस्कृतीको विकासका लागि ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुरले वडास्तरीय घुम्ती पुस्तकालय कार्यक्रम सञ्चालन गरेको छ । नेपाल सरकारको राष्ट्रिय कार्यक्रम १२ औं राष्ट्रिय पुस्तकालय दिवसको सन्दर्भमा ज्ञानोदयले पठन संस्कृतीको विकास र निरन्तर शिक्षा कार्यक्रम अन्र्तगत घुम्ती पुस्तकालय कार्यक्रम सञ्चालन गरेको हो । कोहलपुर नगरपालिका वडा नं. १४ बाट शुरु गरिएको कार्यक्रम नगरपालिकाका विभिन्न वडाहरुमा सञ्चालन गरिनेछ । कार्यक्रमको उद्घाटन गर्दै कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले पुस्तकालयले समय सान्दर्भिक र विशेष महत्वको कार्यक्रमको अवधारणा ल्याएको बताए । उनले कोहलपुर नगरपालिका क्षेत्रमा शैक्षिक विकासका लागि यो कार्यक्रम विशेष सहयोगी हुने विश्वास लिए ।

कोहलपुरको एकमात्र सुविधासम्पन्न एवम् नगर सूचना केन्द्र समेत रहेको पुस्तकालयले नगर क्षेत्रको समग्र विकासमा टेवा पु¥याउँदै आएको बताए । नेपाल सरकारको राष्ट्रिय कार्यक्रमलाई विभिन्न कार्यक्रम गरी सप्ताहव्यापी रुपमा मनाउने निर्णय भएसँगै घुम्ती पुस्तकालयको अवधारणा अगाडी ल्याइएको पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईले जानकारी दिए । कार्यक्रमलाई कोहलपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वयमा हरेक वडामा सञ्चालन भएपछि कार्यक्रम सञ्चालन भएका वडाहरुमा शैक्षिक गतिविधी वृद्वि भई पठन संस्कृतीको विकासमा टेवा पुग्ने उनको भनाई छ ।

यस्तै कोहलपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख अनन्त कुमार पौडेलले पुस्तकालयले सञ्चालन गरेको घुम्ती पुस्तकालय कार्यक्रमले घोषणा भएको साक्षर नगरलाई टेवा पुगेको बताए । हरेक व्यक्तिमा पुस्तक अध्ययन आवश्यक भएकाले कार्यक्रमले मूर्त रुप लिने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल राष्ट्रिय पुस्तकालय संघका केन्द्रीय उपाध्यक्ष तथा ज्ञानोदयका पूर्व अध्यक्ष जयश्वर पौडेलले पुस्तकालय दिवसको इतिहास र महत्वबारे प्रकाश पारेका थिए । कार्यक्रम ३ दिनसम्म वडा नं. १४ मा सञ्चालन हुनेछ र त्यसपछि अर्को वडामा कार्यक्रम सञ्चालन हुने पुस्तकालयका सह–सचिव तथा कार्यक्रम संयोजक निर्मल आचार्यले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७६ साउन ३० गते बिहीबार