शुभाकर विश्वकर्मा,कोहलपुर ।
उनी बिहानै गाई फार्ममा पुग्छिन्, गाईको मलमुत्र सोहोर्छिन्, गाई दुहुन्छिन् । ग्राहकलाई बेच्छिन्, फार्ममा भएका गाईहरुको हेरचाह, घाँसको व्यवस्था, सरसफाई गर्दै हरेक दिन यसरी नै बित्छ । बाँकेको कोहलपुर नगरपालिका १२ चप्परगौडीकी ३३ वर्षीय शारदा शर्माको दैनिकी यसरी नै बितिरहेको छ । शिक्षा संकायमा स्नातकोत्तर सम्मको अध्ययन गरेकी उनको पहिचान जिल्लाको उत्कृष्ट, सफल, नमूना र प्रेरणादायी महिला कृषकको रुपमा स्थापित छ । ‘हातमा डिग्री सर्टिफिकट भएर पनि गाईको मलमुत्र सोर्होदै १८ वर्ष बिताईसके’ उनी भन्छिन्, ‘गाई पालेर आर्थिक रुपमा समृद्ध भएकी छु, यसमा सन्तुष्ट पनि छु ।’ २०५८ सालमा उनको परिवार भारतबाट बसाई सराई गरेर कोहलपुर आएका थिए ।
भारतको आसाममा जन्मेकी उनी उच्च शिक्षा सम्म आसाम मै पढिन् । भारतमा आमाबुवाले पनि गाईपालन गर्नुहुन्थ्यो, उनले भनिन् । सोही साल १५ हजार मुल्यमा एउटा गाईबाट शुरु भएको गाईपालन अहिले व्यवसायिक पेसामा परिणत भएको छ । २०६८ मा शारदा सिर्जनशिल गाई फार्म दर्ता गरेर आफ्नो पेसालाई संस्थागत रुप दिएकी थिईन् । अहिले उनको फार्ममा १९ वटा हल्स्टेन र जर्सी जातका गाई छन् । ति मध्ये ५ वटा दुहुना गाई रहेका छन् । गाई पालन मात्र नभई विभिन्न स्वदेशी बजारमा समेत आफुले पालेका गाईहरुको माग गरेको उनले बताईन् ।
फार्मका गाई धनगढी, कालिकोट, मुगु लगायतका जिल्लामा माग हुने गरेको छ । भर्खरै मात्र ४६ वटा गाई बिक्रि गरेको शर्माले जानकारी दिईन् । फार्मबाट अहिले मासिक साढे १ लाख सम्म कमाई हुने गरेको छ । भने वार्षिक १५ देखी १७ लाख सम्म गाईपालनबाट कमाई हुने गरेको शर्मा बताउँछिन् । गाईपालन मात्र नभई उनले गाईको दूधबाट, छुर्पी, घिउ, मही दही र पनिर जस्ता परिकार बनाएर समेत बेच्ने गरेकी छन् । उनको गाई पालनमा परिवारको सबै भन्दा ठुलो साथ र सहयोग छ । ‘गाई फार्ममा गाईको मल सोर्न कोही चाहन्नन्,’ उनले भनिन्, ‘जागिर दिन्छु भन्दा पनि कोही मान्दैनन् । अहिलेका यूवायूवती विदेशमा अरुको गुलामी गर्छन्, स्वदेशमा कामै गर्न चाहदैनन् । मलाई डिग्री पास गरेर पनि गाईको मलमुत्र सोहोर्न कुनै संकोच छैन ।’
निरन्तरको प्रयासका कारण सफल भएको उनको भनाई छ । अहिले उनकै प्रेरणाले २–३ जना महिलाले गाई पालन व्यवसाय शुरु गरेका छन् । शर्माका अनुसार समाजमा महिलालाई हेर्ने दृष्टिकोण अहिले पनि फरक छ । समाज सेवामा सक्रिय बाँके जिल्लाकै नमूना महिला कृषकको परिचय बनाएकी शर्मा समाजमा सेवा पनि उत्तिकै सक्रिय छिन् । बालबालिका, महिला र यूवाहरुको क्षेत्रमा समेत काम गर्दै आएकी छन् । नेपाल चिल्ड्रेन एजुकेसन प्रोग्रामकी अध्यक्ष समेत हुन् । संस्थाले समाजमा रहेको असहाय बालबालिकालाई स्टेशनरी सामान, लत्ताकपडा लगायत सहयोग गर्दै आएको छ ।
यस्तै समाजमा आर्थिक रुपमा पछि रहेका महिलालाई स्वरोजगार मुलक कार्यमा संलग्न गराउने र व्यवसायमा लाग्न प्रेरित गर्दै आईरहेको उनले बताईन् । उनी एक सफल प्रशिक्षक पनि हुन् । जिल्लाका विभिन्न स्थानमा गएर प्रशिक्षण दिने गरेकी छन् । पछिल्लो समय उत्कृष्ट राष्ट्रिय शिखर कृषक अवार्डको उत्कृष्ट पाँच जना परेपछि उनको चर्चा बढ्न थालेको छ । लामो समयदेखी गर्दै आएको संघर्षको फलको रुपमा लिन्छिन् शारदा । भावुक हुदै, उत्कृष्ट राष्ट्रिय शिखर कृषक अवार्डको मनोनयनमा परेपछि एकदमै खुसी लागेको उनले बताईन् ।








प्रतिक्रिया दिनुहोस्