कोहलपुर,
बाँकेका दुई स्थानीय तहलाई विपद् व्यवस्थापन मैत्री स्थानीय तहको रुपमा विकास गरिने भएको छ । बाँके जिल्लाका कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकालाई भूकम्प, बाढी पहिरो लगायतका प्राकृतिक विपद्बाट न्यूनिकरण गर्नका लागि विपद् व्यवस्थापन मैत्री स्थानीय तहको रुपमा विकास गरिने भएको
हो ।
बाँके जिल्ला मै पहिलो पटक विपद् पूर्व सूचना प्रणाली सेन्सर मेसिनको वातावरणीय नियन्त्रण कक्ष उद्घाटन कार्यक्रममा दुवै स्थानीय तहका प्रमुखले यस्तो प्रतिवद्धता व्यक्त गरेका छन् । अत्याधुनिक पूर्व सूचना दिने सेन्सर मेसिनको उद्घाटन समारोहमा दुवै स्थानीय तहका प्रमुखहरुले विपद् व्यवस्थापन मैत्री नगरपालिका/गाउँपालिका बनाउनको लागि प्रारम्भिक कार्य शुरुवात गरिएको जानकारी दिएका हुन् । बाँकेका आठ स्थानीय तह मध्य पहिलो पटक स्थानीय सरकारको पहलमा जडान गरिएको सेन्सर जडान ऐतिहासिक भएको कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले बताए । ‘नगरबासीको जिउधनको सुरक्षाको लागि सेन्सर जडान गरिएको छ ’ उनले भने,‘ यो शुरुवात हो विस्तारै नगरपालिका भरी विस्तार गर्ने हाम्रो लक्ष्य रहेको छ ।’ पहिलो चरणमा नगरपालिकाका ६ वटा स्थानमा जडान गरिएको जानकारी दिँदै प्रमुख रावतले अर्को चरणमा अन्य वडा, विद्यालय, सार्वजनिक स्थल, सुरक्षा निकाय र सबैका घर–घरमा पनि जडानको लागि पहल गरिने छ ।
यस्तै बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचाल ठकुरीका अनुसार ताईवानको राष्ट्रिय विपद् विज्ञान तथा प्राविधि केन्द्र(एनसिडिआर) सस्थासँग दुई स्थानीय तहले संयूक्त रुपमा गरेको सम्झौता भए अनुसार पहिलो चरणको काम सम्पन्न भएको छ । ताईवानमा विपद् व्यवस्थापनका क्षेत्रमा काम गर्दै आइरहेको राष्ट्रिय विपद् विज्ञान तथा प्राविधि केन्द्र(एनसिडिआर) संस्थाका डाईरेक्टर होङ्गी चेनले नेपालका दुई वटा स्थानीय तहसँग गरिएको काम कोसेढुंगा सावित भएको प्रतिक्रिया दिए । उद्घाटन समारोहमा बोल्दै डाईरेक्टर चेनले पुर्व निर्धारित कार्यक्रम अनुसार नै काम सम्पन्न गरेकोमा कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकालाई धन्यावाद व्यक्त गरे । ‘सम्झौता अनुसार तीन महिना मै काम सम्पन्न गरेकोमा म एकदमै खुसी छु’उनले भने, ‘आगामी दिनमा पनि सहकार्य गर्नको लागि हामी तयार छौ ।’ उनका अनुसार प्राकृतिक विपद्बाट हुने क्षती न्यूनिकरणको लागि आगामी दिनमा अन्य स्थानीय तहसँग पनि सहकार्य गर्न ईच्छुक रहेको बताइएको छ ।
विज्ञान र प्रविधिको विकासको क्षेत्रमा पनि संस्थाले काम गर्ने उनले बताए । कोहलपुर र बैजनाथमा जुनसुकै बेला पनि भुकम्प जान सक्ने अनुमान गरिएको हुँदा यी दुई स्थानीय तहका विभिन्न क्षेत्रमा सेन्सर जडान गरिएको छ । सेन्सर प्रविधिका लागि कुनै पनि टेलिकम्युनिकेसन सिस्टममार्फत मोबाइल एप्किेसनको माध्यमबाट मोबाइलमा जानकारी दिनेछ । ताईवानको राष्ट्रिय विपद् विज्ञान तथा प्राविधि केन्द्र(एनसिडिआर)को सहयोग र वातावरण तथा ग्रामीण विकास केन्द्र(ईन्रुडेक)को सहकार्य तथा कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाको समन्वयमा दुवै स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र पत्रकारहरुलाई विपद् व्यवस्थापन सम्बन्धी तालिम समेत प्रदान गरिएको छ ।
सोही अवसरमा ताईवानको राष्ट्रिय विपद् विज्ञान तथा प्राविधि केन्द्र(एनसिडिआर) संस्था र कोहलपुर र बैजनाथ गाउँपालिका बीच सम्झौता भएको थियो । तीन महिना भित्र सम्पुर्ण कार्य गर्ने पुरा गर्ने लक्ष्य अनुरुप सम्झौता अनुसार काम सम्पन्न भएको छ । कार्यक्रमको अवसरमा दुई पक्षबाट चिनो हस्तारन्तरण पनि गरिएको
थियो । साथै ताईवान सरकारको सहयोगमा कोहलपुर नगरपालिका तथा बैजनाथ गाउँपालिकामा ४ वटा डुङ्गा, दमकल, १० वटा लाईफ ज्याकेट, ३ वटा हेलमेट, ३ वटा पञ्जा तथा १ सय वटा लाईफ ज्याकेट सहयोग गरिने छ । यसैबीच,वातावरण तथा ग्रामीण विकास केन्द्र(ईन्रुडेक)को समन्वयमा ताईवानी सरकारको सहयोगमा भएको कार्य सम्पन्न भएको जनाएको छ ।
एक प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रले सेन्सरले विपद् जोखिम न्यूनिकरणको लागि ठूलो सहयोग गर्ने विस्वास व्यक्त गरेको छ । केन्द्रका अध्यक्ष धर्मलाल रोकायाद्धारा हस्ताक्षेरित विज्ञप्तिमा भूकम्प, बाढी, पहिरो, हावाहुरी जस्ता विपद्को पूर्व तयारीको लागि सेन्सर जडान गरिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्