14 May 2024  |   मङ्लबार, जेष्ठ १, २०८१

आयोजक कर्णाली–११ सेमिफाइनलमा प्रवेश

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख १७, २०७६  

सुर्खेत ।
समूह ‘ए’ को बिजेता बन्दै आयोजक कर्णाली–११ कर्णाली प्रिमियर लिग–२ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा सोमबार कर्णालीले उपाधिको दाबेदार मानिएको विभागिय टोली त्रिभुवन आर्मी क्लवलाई ११ रनले हराउँदै समूह बिजेता बन्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

कर्णालीले दिएको एकसय ५७ रनको लक्ष्य आर्मीले निर्धारित २० ओभरमा आठ वीकेट गुमाउँदै एकसय ४५ रन मात्रै बनाउन सक्यो । राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको आर्मीका लागि कप्तान बिनोद भन्डारीले ४२ बलमा एक छक्का र ९ चौकासहित ५५ रनको अर्धशतकिय पारी खेलका थिए भने हरि बहादुर चौहानले ३८ रन जोडे । कर्णालीका कप्तान रबिन्द्रजंग शाही र कृष्ण कार्कीले समान तीन÷तीन वीकेट लिए । टस जितेर ब्याटीङ गरेको घरेलु टोलीले लोकेश बमको ३० बलमा दुई छक्का र ६ चौंका सहित ५० रनको अर्धशतकिय पारीसंगै सात विकेट गुमाएर एकसय ५६ रन बनाएको हो ।

कर्णाली एघारका प्रदिप रसाइलीले ३४ जितेन्द्र सिंह ठकुरीले ३० रन बनाउँदा कप्तान रबिन्द्र शाहीले २३ रनको योगफल दिएका थिए । विभागिय टोली आर्मीका लागि सुसन भारीले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा मात्र १६ रन खर्चिदै पाँच विकेट हात पारे । लगातार तीन जित हात पारेको कर्णाली एघारले पहिलो खेलमा लालीगुराँस क्रिकेट एकेडमी र दोस्रो खेलमा मध्यपश्चिम क्रिकेट क्लव बाँकेलाई हराएको हो । यो समूहबाट आर्मी र मध्यपश्चिम क्रिकेट क्बलबीचको खेलमा जित्ने टिमल समूह उपबिजेताका रुपमा सेमिफालनमा प्रवेश गर्नेछ । यस्तै महेन्द्रनगर क्रिकेट एकेडमीले पहिलो जित दर्ता गरेको छ भने हिमालयन एकेडमीले लगातार दोस्रो हार भोगेको छ ।

पहिलो खेल गुमाएको महेन्द्रनगरले सोमबारको खेलमा हिमालयन एकेडमीलाई पाँच रनले हराउँदै अंक तालिकामा खाता खोलेको हो । एकसय ५२ रनको लक्ष्य पाएको हिमालयन एकेडमीले निर्धारित २० ओभरमा सात वीकेट गुमाएर एकसय ४८ रन मात्र बनाउन सक्यो । हिमालयनका ५० रनको अर्धशतकिय पारी र दिपेन्द्र ऐरीले २९ रन बनाए पनि टोलीको जितका लागि प्रयाप्त हुन सकेन ।

महेन्द्रनगरका बिक्रम ठगुन्ना र आकाश चन्द्रले समान दुइ÷दुइ वीकेट लिए । टस जितेर पहिला ब्याटिङ गरेको महेन्द्रनगरले २० ओभरमा पाँच विकेट गुमाएर एकसय ५१ रन बनाएको हो । महेन्द्रनगरका लागि किरण ठगुन्नाले ४१ र दिनेश आग्रीले ३३ रनको योगदान दिए । हिमालयनका शरद खड्काले दुइ वीकेट लिए ।

प्रकाशित मितिः मङ्लबार, बैशाख १७, २०७६     6:55:56 AM  |