8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

२७ वर्षपछि बागेश्वरी बहुमुखी आंगिक क्याम्पस

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, चैत्र १६, २०७५  

डिल्ली शाही कोहलपुर ।
बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी क्याम्पस २७ बर्षपछि सरकारी विश्वविद्यालयको आंगिक क्याम्पस बनेको छ । २०४८ सालमा स्थापना भएको क्याम्पस औपचारिक रुपमा शुक्रबारबाट मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) मातहत आएको हो । एक भव्य कार्यक्रमका बिच बागेश्वरी बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा हस्तान्तरण गरिएको थियो । एमयूका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले अब क्याम्पसको सम्पूर्ण व्यवस्थापन तथा सञ्चालन एमयूले गर्ने
बताए । ‘अब यसको सञ्चालन पनि विश्वविद्यालयको ऐन–कानुन अनुसार हुन्छ,’ उनले भने, ‘दुर्गम जिल्लाबाट आएका विद्यार्थीहरुले गुणस्तरीय शिक्षा प्रदान गर्ने सपना पुरा हुनेछ ।’ अब यस बागेश्वरी क्याम्पसमा शिक्षा संकायका साथै प्राविधिक विषयको पनि पठनपाठन हुने उनले बताए । ‘ढिलै भए पनि क्याम्पसले सरकारी मान्यता पाएको छ’ क्याम्पस सञ्चालक समितिका अध्यक्ष नरेन्द्र न्यौपानेले भने, ‘अब हामीले महँगो शुल्कबाट छुटकारा पाउनेछौं ।’ ‘स्थापनादेखिकै प्रयास र अथक मिहिनेतपछि मात्रै यो सम्भव भएको हो,’ उनले भने, ‘लामो समयदेखिको प्रयास सफल भएको छ, यसबाट क्याम्पस परिवारका साथै सिंगो जिल्ला खुसी छ ।’

क्याम्पका संस्थापक बेदनिधि शर्माले अहिले जिल्लाको पुरानो क्याम्पस सरकारी हुँदा गर्व महसुस भएको बताए । ‘संञ्चय कोषबाट नेपालगन्जको सदरलाइनमा सरस्वती कन्या माध्यमिक विद्यालय सुरुमा स्थापना गरेका थियौं’ उनले भने, ‘त्यसको एक बर्षपछि २०४८ सालमा कोहलपुर स्थान्तरण गरेका हौं ।’ आफुले लगाएको विरुवाले अझै उत्कृष्ट फल दिनुपर्ने उनले बताए । त्यसैगरी क्याम्पस प्रमुख शिशिर कुमार शर्माले साविकको मध्य र सुदुरपश्चिमको केन्द्र बिन्दुमा रहेको कोहलपुरमा रहेको बागेश्वरी सरकारी क्याम्पस बनेसँगै सबैलाई फाइदा हुने बताए ।

‘टाढाटाढाबाट आएका विद्यार्थीहरु कोठा भाडा लिएर बस्छन्’ उनले भने, ‘एमयूमा क्याम्पस रुपान्तरण भएसँगै बिद्यार्थीहरुले न्यून शुल्कमा पढ्न पाउनेछन् ।’ न्यून शुल्कमा पढ्न पाउने भएपछि बिद्यार्थीहरुमा मुहारमा खुसी छाएको छ, उनले भने । सरकारी विश्वविद्यालयको आंगिक क्याम्पस भएकोमा बिद्यार्थीहरुले समेत खुसी व्यक्त गरेका छन् । उनीहरुले शिक्षाको गुणस्तरमा समेत आगामी दिनमा ध्यान दिन विश्वविद्यालयका अधिकारीहरुलाई आग्रह गरेका थिए । बागेश्वरी क्याम्पस मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा हस्तान्तरण समारोहमा विश्वविद्यालयका विभिन्न विभाग प्रमुख, स्थानीय जनप्रनिधी, विभिन्न राजनितिक दलका प्रतिनिधी, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मितिः शनिबार, चैत्र १६, २०७५     8:52:35 AM  |