कोहलपुर । २९, बाँकेको राप्तीसोनारी गाउँपालिकाको चौथो गाउँसभा सोमबारबाट सुरु भएको छ । गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा सुरु भएको सभामा उपाध्यक्ष धनीकुमारी खत्रीले संक्षिप्त अनुमानित बजेट तथा चालु आर्थिक वर्षको प्रगति विवरण प्रस्तुत गरेकी छन् । सभाले राप्तीसोनारीलाई नमुना गाउँपालिका बनाउने संकल्प पनि गरेको छ । यसका लागि हरेक वडालाई विकासको पुर्वाधारबाट सम्पन्न गराउनेमा जोड दिइएको छ । यस्तै गाउँपालिकाको विधायन समितिका संयोजक एवम् वडा नम्बर ३ का वडाअध्यक्ष गंगाराम थारुले विभिन्न १७ वटा कार्यविधीलाई सभामा प्रस्तुत गरे । उक्त कार्यविधी अध्ययनका लागि सभाका सदस्यलाई वितरण गरिएको छ ।
आगामी फागुन ६ गते पुनः बस्ने गाउँसभाबाट कार्यविधी पारित गरिनेछ । ऐन, कानुनको संशोधन, नयाँ कानुन पारित, थप बजेट विनियोजन, आवश्यकता अनुसार योजनाको नाम परिवर्तन जस्ता विषयमा गाउँसभा केन्द्रित हुने अध्यक्ष थारुले बताए । ‘कतिपय योजनाको नाम परिवर्तन गर्नुपर्ने र थप्नुपर्ने अवस्था छ, नाम परिवर्तनका लागि प्रत्येक वडालाई बोर्ड बैठकबाट आब्हान गरेका थियौं, गाउँसभाले योजनाको नाम परिर्वतन गर्नुपर्ने वा थप्नुपर्ने विषयलाई पनि प्राथमिकतामा राखेको छ,’ उनले भने ।
गाउँपालिकाले चालु वर्षमा २ करोड राजश्व संकलन हुने अनुमान गरेकोमा ६ करोड बराबरको बजेट ब्रेकडाउन गर्न सफल भएको अध्यक्ष थारुको भनाई रहेको छ । सभाले गाउँपालिकाको ९ वटै वडाका लागि थप बजेट पनि विनियोजन गर्ने जनाइएको छ ।
गाउँसभा आगामी फागुन ६ गते बिहान ११ बजेका लागि बोलाइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रकाश केसीले जानकारी दिए ।