रावन विश्वकर्मा १९, बर्दिया, बर्दियाको चिनारीको लागि बाँसगढी महोत्सवले महत्वपूर्ण भूमिका निभार्ह गर्ने आशा गरिएको छ । महोत्सवले बर्दिया जिल्लाको विशेषता, मौलिकता, पहिचान र सम्भावनाको उजागर गर्दै क्षेत्रीय, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक प्रचार प्रसार र पहिचान गराउने महोत्सव मुल आयोजक समितिका संयोजक रामसिंह थारुले बताए ।
थारु संस्कृति र रहन सहनहरु लोप हुँदै गईरहेको अवस्थामा थारु संस्कृतिको जगेर्ना गर्दै पर्यटन प्रवद्र्धनमा महोत्सवले विशेष भूमिका खेल्ने मेला सम्पादन समिति संयोजक थारुको भनाइ छ । स्थानिय स्तरमा आयोजना हुने यस्ता मेला तथा प्रर्दशनीले उत्पादक तथा उपभोक्ता बीच प्रत्यक्ष सम्बन्ध गाँसी औद्योगीक तथा व्यापारी चहल पहल बढाई सम्रग आर्थिक क्षेत्र फस्टाउने आयोजकको दाबी छ । मेलाले राजनीतिक दल, सरकारी निकाय, संघ संस्था, वित्तिय संस्था, शैक्षिक संस्था, धार्मिक स्थल, जातिय समाजहरु, नागरिक समाज लगायत सबै पक्षको आपसी सदभाव र समन्वयका साथ मेलालाई सफल बनाउन सहयोग पुग्ने बाँसगढी उद्योग वाणिज्य सँघका संस्थापक अध्यक्ष तथा अथिति सत्कार तथा मुल्यांकन उपसमितिका संयोजक पुष्पराज बरालले बताएका छन् । उनले उद्योग वाणिज्य क्षेत्रको प्रवद्र्धन, स्थानीय स्तरको पहिचान र उद्योग वाणिज्य संघको भवन निर्माणको लागि महोत्सव सञ्चालन गर्न लागिएको र मेला सफल पार्न सबै क्षेत्रको उतिकै भूमिका रहने बताए ।
अहिलेसम्म सञ्चालन गरिएका मेलाहरुले स्थानीय कला संस्कृति र व्यापार व्यवसायलाई समेटन नसकेको भए पनि अबको महोत्सवले पुर्ण रुपमा स्थानीय कला संस्कृति र व्यापार व्यवसायलाई प्रवद्र्धन गर्ने लक्ष्य लिएको बाँसगढी उद्योग वाणिज्य संघका सल्लाहाकार शंकर शर्माले बताए । महोत्सवले अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको व्यापार, व्यवसाय, उद्योग धन्दा तथा उत्पादनको प्रर्वद्धन गर्नुका साथै स्थानीय कृषि, पर्यटन थारु हस्तकला, कला संस्कृति भेषभुषालगायत विभिन्न पक्षको समुन्तति गरी स्थानीय जनताको क्रियाशिलतामा वृद्धि ल्याउन मदत पुग्ने प्रचार प्रसार उपसमिति संयोजक एकनारायण अधिकारीले बताए ।
“कृषि, पर्यटन,उद्योग, व्यापार तथा संस्कृतिको संस्कृतिको पहिचान, विकास र समृद्धिमा हामी सबैको अभियान” भन्ने मुल नारा सहित पौष २७ गतेदेखि माघ ८ गते सम्म वाईवाई तेस्रो बाँसगढी औद्योगिक, कृषि, पर्यटन, व्यापार एवं बर्दिया माघ महोत्सव सञ्चालन हुँदै छ । बाँसगढी उद्योग वाणिज्य संघको मुख्य आयोजना र सि.जि फुड्स इन्टरप्राईजेज लि. बर्दियाको टाईटल प्रयोजनमा महोत्सव सञ्चालन हुन लागेको हो । जिल्लामा रहेको नेपालकै सबैभन्दा लामो कर्णाली कोठियाघाट पुल, ऊँ केद्धारेश्वर धाम, सबै प्रकारका चराचुरुङगी अवलोकनको लागी बहैयाताल, सत्खलुवा सिमसार क्षेत्र, भास ताल, बर्दिया राष्ट्रिय निकुञ्ज, दुर्लभ कृष्णसार, ठाकुरद्वार पर्यटन क्षेत्रले पनि मेलाको विशेष पहिचान र महत्व रहने जनाइएको छ ।
प्रकाशित मिति : २०७५ पुस १९ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्