कोहलपुर/ हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान काहलपुरले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कोहलपुर निबुवा (खड्कवार)को पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरेको छ ।
प्रतिष्ठानको रचना वाचन विभागको आयोजनामा शुक्रबार एक समारोहका विच पुस्तक हस्तान्तरण गरिएको हो । रचना वाचन विभागको ११५औँ ‘रचना वाचन’ श्रृङ्खला अन्तर्गत विभिन्न विधाका तीन सय २९ बढी पुस्तकहरु प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालले नेपाल राष्ट्रिय मावि खड्कवारका प्रधानाध्यापक आनन्द प्रसाद भट्टराईलाई हस्तान्तरण गरेका थिए ।
पुस्तक हस्तान्तरण समारोहमा बोल्दै अध्यक्ष ढकालले प्रत्येक गाउँ टोलमा पुस्तकालय हुनु जरुरी रहेको बताए । साथै उनले समाजलाई सचेत बनाउन तथा समुन्नत समाजको निर्माणका लागि स्थानीय निकायले पुस्तकालयहरुमा विशेष चासो दिनुपर्ने कुरा औल्याउँदै प्रतिष्ठानले कोहलपुर नगर क्षेत्रभित्रका विभिन्न विद्यालयका पुस्तकालयहरुलाई पुस्तक हस्तान्तरण गर्दै जाने अभियान रहेको बताए ।
यस्तै कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष कृष्ण बहादुर खड्काले पूर्णिमा साहित्य प्रतिष्ठानले साहित्यको क्षेत्रमा देखाएको सक्रियता निकै महत्वपूर्ण रहेको बताए । साथै गाउँ गाउँमा पुस्तकालय हुन सके बालबालिकाको पठनीय संस्कारको विकास भई उनीहरुको शैक्षिक श्रीवृद्धिमा टेवा पुग्ने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर खड्काले कोहलपुर नगर भित्रमै पछाडि पारिएको क्षेत्रमा समेत पूर्णिमाले विद्यालय र बालबालिकालाई उत्साहित पार्ने गरी पुस्तक हस्तान्तरण गरेकाप्रति प्रतिष्ठानलाई धन्यवाद दिँदै खुसी व्यक्त गरे ।
‘हाम्रो अभियान साहित्यिक पहिचान’ नाराका साथ आयोजित पुस्तक हस्तान्तरण कार्यक्रममा साहित्यकारहरु सागर गैरे, ऋचा लुइटेल, कपिल अञ्जान, केशव निमेश, ओम वली ‘विश्वास’ लगायत विद्यालयका दुई दर्जन बढी बालबालिकाहरुले आ–आफ्ना रचना वाचन गरेका थिए । रचना वाचन विभागकी संयोजक देबकी निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन साहित्यकार डा.देबेन्द्र आचार्यले गरेक थिए ।