नेपालगन्ज : रगत बग्न थालेमा नरोकिने वंशाणुगत रोग हिमोफिलियाको महँगो औषधीहरू सरकारले अस्पतालहरूमै निःशुल्क उपलब्ध गराउने भएको छ । यसअघि हिमोफिलियाका बिरामीहरूले नेपाल हिमोफिलिया सोसाइटीको सदस्य बनेपछि निःशुल्क औषधी पाउँदै आएका थिए । तर अस्पतालहरूमा उक्त औषधी उपलब्ध हुने गरेको थिएन । हिमोफिलियाको औषधी अमेरिका लगायत विकसित देशहरूमा मात्रै उत्पादन हुन्छ । जुन औषधी विश्व हेमोफिलिया सोसाइटीमार्फत दानमा नेपालमा आउने गरेको छ ।
नेपालमा हालसम्म उक्त औषधी नेपाल हिमोफिलिया सोसाइटीमा मात्रै पाइने गरेको छ ।
नेपालगन्जका एक हिमोफिलियाका बिरामी बालककी आमा वेदना गुरुङले अहिले हिमोफिलियाको औषधी काठमाडौंमा नेपाल हिमोफिलिया सोसाइटीमा मात्रै पाइने गरेको बताइन् । गुरुङले आफू एक वर्षदेखि सोसाइटीको सदस्य रहेको बताइन् । उनका अनुसार पछिल्लोपटक आफ्नो छोराको हिमोफिलयाको फ्याक्टर चढाउने, रगत चढाउने र प्लाज्मा चढाएर उपचार भेरी अस्पतालमै भएको बताइन् ।
तर, फ्याक्टर भने काठमाडौंबाटै मगाउनु परेको उनको भनाइ छ । ‘नेपालगन्जमै फ्याक्टर पाइने भएपछि त धेरै सजिलो हुन्छ । सरकारले अस्पतालमै औषधी ल्याइदिन्छ भने धेरै राम्रो हो,’ उनले भनिन् ।
संघीय सरकारले विश्व हिमोफिलिया सोसाइटीबाट हिमोफिलियाको औषधी अनुदानमा प्राप्त गरेर अस्पतालहरूमा पठाउने व्यवस्था गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको सचिवालयले उक्त औषधीको प्रबन्ध अब हिमोफिलिया सोसाइटीले गर्ने र अस्पतालहरूमा मन्त्रालयले पठाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।
विश्व हिमोफिलिया महासंघले अब नेपाल हिमोफिलया सोसाइटीसँग भन्दा सरकारसँगै सहकार्य गरेर औषधी उपलब्ध गराउने भएको प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए । हिमोफिलिया सोसाइटीबाट सबै अस्पतालहरूमा औषधी पु¥याउन नसकिएको लगायतका गुनासाहरू बिरामी तथा सरोकारवालाहरूबाट मन्त्रालयमा आएको र उनीहरूले सरकार आफैले औषधी उपलब्ध हुने व्यवस्था गर्नुपर्ने माग राखेपछि मन्त्रालयले पहलकदमी लिएको प्रवक्ता डा. बुढाथोकीले मिसन टुडेसँग बताएका छन् ।
‘हिमोफिलियाको औषधी दिने एकमात्र संस्था हिमोफिलिया सोसाइटी नै हो । अब सोसाइटीले हिमोफिलिया नेपालको सोसाइटीसँग भन्दा सरकारसँगै काम गर्न खोजेको हो । अब छिटै औषधीहरू अस्पतालमै उपलब्ध हुने व्यवस्था गर्छौँ,’ डा. बुढाथोकीले भने ।
नेपालगन्जस्थित भेरी अस्पतालका प्रमुख कल्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेका अनुसार हिमोफिलियाका कतिपय औषधीको एउटै भाइलको चार लाखभन्दा माथि पर्न जान्छ । अब त्यस्ता औषधीहरू निःशुल्क पाइने भएपछि राहत मिल्ने गुरुङले बताइन् ।
नेपालगन्ज मेडिकल कलेजमा कार्यरत बालरोग विशेषज्ञ डा.रोमा बोराले पनि यस रोगको औषधी निकै महंगो पर्ने भएकोले निःशुल्क भएमा बिरामीहरूलाई राहत मिल्ने बताइन् ।
हिमोफिलिया जटिल किसिमको वंशाणुगत रोग मानिन्छ । यसमा रगत बग्न थालेमा नरोकिने, नाकबाट रगत बग्ने, घाउबाट लामो समयसम्म रगत बग्न नरोकिने, ओठबाट रगत बग्ने, छालामा सजिलैसँग निलडाम पर्ने, जोर्नीहरूमा दुखाइ र कडापन हुने, गम्भीर टाउको दुखाइ हुने, घाँटी कडा हुने, बान्ता आउने, मानसिक अवस्थामा परिवर्तन हुने, दृष्टिमा परिवर्तन जस्ता लक्षणहरू देखिने चिकित्सकहरू बताउँछन् ।
अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका संघीय अस्पताल तथा प्रादेशिक अस्पतालका साथै अन्य सरकारी अस्पतालबाट समेत उपलब्ध गराउने प्रवक्ता बुढाथोकीको भनाइ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस औषधीका लागि राज्यकोषमा भार नपर्ने गरी विश्व हिमोफिलिया महासंघमार्फत प्राप्त गर्ने उनले बताए ।
नेपालमा हाल करिब नौ सय जना यो रोगका बिरामीका रूपमा पहिचान भएका छन् । तर विश्व स्वास्थ्य संगठनले नेपालमा पहिचान हुन नसकेका यस्ता करिब ५ हजार बिरामी रहेको अनुमान गरेको छ । २०७८ को जनगणनामा दुई दशमलव दुई प्रतिशतमा अपांगता देखिएकामध्ये शून्य दशमलव ८ प्रतिशतमा हिमोफिलिया भएको हुनसक्ने ठानिएको छ ।
‘प्रदेशस्तरका अस्पतालमा हिमोफिलियाको उपचार बिस्तार गर्छौँ’
रगत जमाउने प्रोटिनको कमीले हुने वंशाणुगत रोग हिमोफिलयाको पूर्ण उपचार सम्भव नभए पनि रगत बग्नबाट रोक्न बिरामीको लक्षणका आधारमा रगतमा कमी भएको फ्याक्टर चढाएर, ताजा रगत दिएर र प्लाज्मा चढाएर उपचार गरिन्छ । जुन उपचारका लागि पहिले यस क्षेत्रका बिरामीहरू काठमाडौं पुग्नुपर्ने अवस्था थियो । अहिले भने भेरी अस्पतालमै उक्त सेवा दिन सुरु गरिएको छ । भेरी अस्पतालले रगत रोग विशेषज्ञ प्रा.डा.विशेष पौडेल, विश्व हिमोफिलिया महासंघ, नेपाल हिमोफिलिया सोसाइटीसँग सहकार्य गरेर फ्याक्टर चढाउने सुविधासहितको उपचार सेवा सुरु गरेको हो ।

केही दिनअघि नेपालगन्जका एक ११ वर्षीय बालक र खजुराका २२ वर्षीय युवाको नेपालगन्जमै फ्याक्टर चढाएर उपचार गरिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार सरकारले पहिलो चरणमा प्रदेश स्तरका अस्पतालहरूमा हिमोफिलियाको उपचार विस्तारका लागि पहल गरिरहेको छ । उनले भने, ‘अस्पतालहरूको पूर्वाधार हेरेर र रगत सम्बन्धी उपचार गर्ने चिकित्सकहरूको अवस्था हेरेर प्रदेश स्तरका अस्पतालहरूमा यसको उपचारको व्यवस्था गर्ने पहल हामीले गरिरहेका छौँ,’ डा. बुढाथोकीले भने ।









प्रतिक्रिया दिनुहोस्