प्रदेश–६ मा मन्त्रालयको भागबन्डा टुंगियो



सुर्खेत,५ फागुन/   प्रदेश नम्बर–६ मा वाम गठबन्धनका दुई दलबीच मन्त्रालयको भागबन्डा टुंगो लागेको छ ।

मन्त्रालयको भागबन्डा टुंगो लागेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार (भोलि) सरकार गठनको तयारी गरेका छन् ।

मन्त्रालयको विवाद समाधान भएपछि मुख्यमन्त्री शाहीले आइतबार मन्त्रीहरु नियुक्त गर्ने भएका हुन् ।

प्रदेश नम्बर–६ मा नेकपा माओवादी केन्द्रको भागमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक विकास मन्त्रालय परेको छ भने नेकपा एमालेको भागमा आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय परेको छ ।

माओवादी केन्द्रले मुख्यमन्त्रीसहित आर्थिक मामिला तथा योजना मन्त्रालय आफूसँग राख्ने योजना बनाएपनि एमालेले उक्त मन्त्रालय दाबी गर्दा माओवादी केन्द्रले छाडेको छ ।

मुख्यमन्त्री शाहीले आफ्नो दलको भागमा परेका मन्त्रालयको मन्त्री छान्न आन्तरिक तयारी गरिरहेको सांसद कृष्णा शाहले बताइन् ।

माओवादी केन्द्रको भागमा परेका आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा जुम्लाका सांसद नरेश भण्डारी र सामाजिक विकास मन्त्रालयमा रुकुमका सांसद विमला केसीलाई मन्त्री बनाउने तयारी गरिएको सांसद शाहले जानकारी दिइन् ।

मुख्यमन्त्री पाएको माओवादी केन्द्रले शनिबार मन्त्रालयको टुंगो लगाएपछि आइतबार बिहान बस्ने संसदीय दलको बैठकले मन्त्री बन्ने भण्डारी र केसीको नाम अनुमोदन गर्ने उनले बताइन् ।

नेकपा एमालेले भने आफ्नो भागमा परेका चारओटा मन्त्रालयका लागि मन्त्री छान्न आन्तरिक गृहकार्य भइरहेको संसदीय दलका नेता यमलाल कँडेलले जानकारी दिए । आइतबारसम्म मन्त्री बन्नेको नाम टुंगो लाग्ने र शपथ लिने उनले बताए ।

वाम गठबन्धनका दुई दलबीच एमालेले चार र माओवादीले मुख्यमन्त्रीसहित तीन मन्त्रालय पाउने सहमति भएको थियो ।

यो प्रदेशमा एमालेका २०, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका ६ र राप्रपाका एकजना सांसद छन् । रासस

प्रकाशित मिति : २०७४ फागुन ५ गते शनिबार