कपिलवस्तु पुस १६, साँढेको आक्रमणबाट एक किशोरीको ज्यान गएको छ । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका चमरसठमा साँढेको आक्रमणबाट वडा नम्बर ३ का द्वारिका गुप्ताकी १३ वर्षीया छोरी जानकीको ज्यान गएको प्रहरीले जनाएको छ ।
साँढेको आक्रमणबाट दुई महिला घाइते भएका छन् भने बगाहियाका सुसु भनिनेको ढाड भाँच्चिएकोमा भारतको लखनौमा उपचार भइरहेको रामबलि यादवले जानकारी दिए ।
आक्रमणबाट गौडहवामा पनि चार जना घाइते भएको इलाका प्रहरी कार्यालय महाराजगञ्जले जनाएको छ । स्थानीयवासी बृजेश यादवले एक हप्तादेखि साँढेले महाराजगञ्ज आसपासमा आतंक मच्चाएको जानकारी दिए । साँढेले बाटामा हिँडडुल गरेका जो कोहीलाई पनि आक्रमण गर्ने गरेको छ । अहिलेसम्म १० भन्दा बढी स्थानीयवासी घाइते भएका छन् । नगरपालिकाले साँढे नियन्त्रण गर्न प्रहरी, पशुसेवा कार्यालयका कर्मचारीलगायतलाई परिचालन गरेको छ । रासस
प्रकाशित मिति : २०७४ पुस १६ गते आइतबार









प्रतिक्रिया दिनुहोस्