बाँसगढीलाई सुन्दर, रमणिय र मनमोहक नगरपालिका बनाउने मेरो सपना छ : अधिकारी



 स्थानीय तहको निर्वाचनमा बर्दिया जिल्लाको महत्वपूर्ण नगरपालिकाको रुपमा रहेको बाँसगढी नगरपालिकाको प्रमुखमा बहुमतसहित नेकपा एमालेका युवा नेता शालिकराम अधिकारी निर्वाचित भए । निर्वाचन पश्चात युवा एवम् योग्य नगरप्रमुखबाट बाँसगढी नगरपालिकाका स्थानीयले आफ्नो नगरपालिकामा विकासको मुल फुट्ने अपेक्षा गर्नु स्वाभाविकै हो । जनताको त्यो अपेक्षालाई पूरा गर्न दिनरात आफ्नो वुद्धि, विवेक र क्षमताले भ्याएसम्म खटेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछन् युवा नगरप्रमुख अधिकारी । आफ्नो कार्यकालमा पूर्व–पश्चिम राजमार्गमै पर्ने नगरपालिकाको केन्द्र (सदरमुकाम) बाँसगढीलाई राजमार्गमा यात्रा गर्ने जो कसैलाई पनि गाडीबाट झरेर बाँसगढीको सुन्दर, रमणिय र मनमोहक दृश्य हेर्न लालाहित बनाउने गरी विकास गर्ने सपना रहेको अधिकारी बताउँछन् । यिनै अधिकारीसँग मिसन टुडे दैनिकका लागि भीम रावत र यानबि.साहुले लिएको अन्तर्वार्ताको  सम्पादित प्रमुख अंश :                                                             

१.नयाँ संरचनाअनुसार बनेको स्थानीय तहमा बाँसगढी नगरपालिकाको प्रमुखमा निर्वाचित भइसकेपछि तपाईले चालु आर्थिक वर्षमा गर्ने कार्यक्रमहरुको संक्षिप्त रुपमा प्रकाश पारिदिनुहोस् न ?

 सर्वप्रथम त धन्यवाद छ । खासगरी स्थानीय तहको निर्वाचन पश्चात हामीलाई नेपालको संविधानले अधिकार प्रत्यायोजन गरे अनुसार स्थानीय तहको नगरसभा साउन २९ गते सम्पन्न ग¥यौ । नगरसभाबाट नीति तथा कार्यक्रम लगायत आर्थिक वर्ष २०७४÷७५ को ५७ करोडको बजेट पास गरेका छौ । यो बजेटमा विशेषगरी हामीले विकास र आर्थिक समृद्धिका क्षेत्र जोडिएका कार्यक्रमलाई जोड दिएका छौ । विकास निर्माणका पूर्वाधारहरु व्यवस्थित गर्ने उद्देश्यका साथ खासगरी पहिलो पूर्वाधारको रुपमा बाटोलाई प्राथमिकता दिएका छौ । बाँसगढी नगरपालिका भित्र रहेका ७ वटा महत्वपूर्ण बाटोहरुलाई पहिलो फोकसका रुपमा जनताको सहज पहँुच नगरपालिकासम्म होस् भन्नका निम्ति बजेट विनियोजन गरेका छौ । र अरु लिङ्क रोडका रुपमा रहेका सडक सञ्जाललाई व्यवस्थित गर्ने उद्देश्यका साथ समेत बजेट विनियोजन गरेका छौ ।

 २. प्रथम नगर सभाले एक वर्षको नीति, कार्यक्रम तथा बजेट पारित गर्दै गर्दा जनताबाट आएका र त्यसलाई यो आर्थिक वर्षभित्रै पुरा गर्नुपर्ने त्यस्ता पूर्वाधारका कुनै ३ वटा योजनाहरु के हुन् ? 

 हामीले योजना छनौट गर्ने बलामा जनताको सहभागितामा नै छनौट गरेका हौं । जनताहरुले नै अगाडि सोरका यस यस आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी पहिलो, योजना भनेको जनतालाई सरल रुपमा सेवा सुविधालाई दिन सकियोस् भन्नका लागि कार्यालयलाई व्यवस्थित गर्ने कुरामा जोड दिएका छौं । पहिलो चरणमा अधुरा रहेका पुलहरु, कल्र्भटलाई सम्पन्न गर्ने गरी बजेट विनियोजन गरेका छौं । दोस्रो, सबै वडा कार्यालयहरु यस आर्थिक वर्षभित्र जनतालाई पायक पर्ने गरी स्थापना गरिने छ । हाल रहेका ३ वटा वडा कार्यालय साविकै गाविस भवनमा वडा कार्यालयको रुपमा राखिने छ भने बाँकी ६ वटा वडा कार्यलयहरु यसै आ.व. भित्र सम्पन्न गर्ने गरी योजना बनाएका छौं । त्यसपछि स्थानीय तहअन्तर्गत आएका कृषि, पशु, स्वास्थ्य र शिक्षा आदि विभागहरुलाई पनि भवनको व्यवस्था गर्ने योजना रहेको छ । जनताले प्राप्त गर्ने सेवा सुविधाहरु सहजताका साथ सम्पन्न होस् भन्नका निम्ति ती कार्यालयको व्यवस्थापनमा जोड दिने निर्णय गरिसकेका छौ । त्यस्तै निर्माणाधिन अवस्थामा रहेको नगरपालिकाको भवन पनि यसै आर्थिक वर्षमा पुरा गरी आफ्नै भवनबाट जनतालाई सेवा सुविधा दिने उद्देश्यका साथ कामहरु गरिरहेका छौ ।

३. तपाईहरुले पदभार ग्रहण गरेको सय दिन पनि पुगेको छ । यो सय दिनको समयमा जनतालाई प्रत्यक्ष लाभ पुग्ने गरी गरेका तीन कामहरु के के हुन् ?

 पहिलो काम, पदभार ग्रहण गरेको सय दिनभित्रै हामीले सिंहदरवारको अधिकार गाउँमा आएको र त्यसको प्रत्याभुत हुने गरी जनताका सेवा सुविधा वडा कार्यालयबाटै सञ्चालन गर्ने गरी सबै वडामा वडा कार्यालय सञ्चालन गरेका छौ । यसबाट जनताले आफ्नो काम आफ्नै वडाबाट हुँदो रहेछ भन्ने अनुभूति गरेको पाएको छु ।दोस्रो काम, वृद्धभत्ता एवम् सामाजिक सुरक्षा भत्ता केन्द्रिकृत  थियो । त्यसलाई जनताकै घरदैलोमा पु¥याउने गरी वडा कार्यालय र टोलमा पुगेर वृद्धभत्ता वितरण गर्ने काम सम्पन्न ग¥यौ । त्यस्तै छाला रोगसँग सम्वन्धित शिविर सञ्चालन ग¥यांै । छाला रोग भनेको एउटा जटिल रोग पनि रहेछ । हामी शिविरबाट पनि केही अनुभव ग¥यौ । जस्तो कुष्ठरोग । कुष्ठरोग जस्तो एउटा भयानक खालको रोग मान्छेहरुले लुकाउने र पहिचान गर्न नसकिने खालको स्थिति रहेछ । हामीले सञ्चालन गरेको त्यो शिविरमा जोखिमपूर्ण रुपमा उन्मूख भइसकेका रोगीहरु समेत फेला पर्ने स्थिति रह्यो र त्यसबाट जनताले सेवा सुविधा पाए जस्तो लाग्छ । शिविर साविकका ३ वटा गाविसलाई लक्षित गररे ३ दिनसम्म सञ्चालन गरिएको थियो । यसबाट हाम्रो नगरपालिकामा छालासँग सम्वन्धित रोगहरुको पहिचान समेत गर्न सफल भएका छौं । त्यस्तै यस पटकको वर्षातमा हाम्रो नगरपालिकाका बाढीबाट प्रभावित नागरिकहरुलाई जनप्रतिनिधिको हिसावले समयमै उद्धार गर्ने, राहत वितरण गर्ने, व्यवस्थापन गर्ने काम सम्पन्न ग¥यौं । तेस्रो काम भनेको स्थानीय तहलाई संविधानले स्थानीय सरकारको रुपमा काम गर्ने राज्यको अङ्ग बनाएकोले स्थानीय तह सञ्चालन सम्वन्धी नियमावली, कार्यविधि, आर्थिक तथा विनियोजन ऐन, खरिद ऐन जस्ता आवश्यक कानूनहरु नगर सभाबाट पारित ग¥यौं । स्वभाविक रुपले नयाँ संरचनामा स्थानीय तहलाई सञ्चालन गर्ने नियम कानून बनाउने चरणकै रुपमा सय दिनहरु केन्द्रित भए । त्यसपछि त्यसलाई व्यवस्थित गर्नका लागि विभिन्न ६ वटा विषयगत समितिहरु गठन ग¥यौ । ती विषयगत समितिहरुले आफ्नो क्षेत्राधिकारभित्र रहेर कार्यक्रम सञ्चालन गर्ने काम गरिरहेका छन् । बाँसगढी नगरलाई सफा नगरका रुपमा व्यवस्थित गर्ने  उद्देश्यका साथ नगर सरसफाई अभियानलाई अलि महत्व दियौं र कतिपय ठाउँमा अव्यवस्थित रुपमा रहेका रुखहरु हटाउने, अव्यवस्थित बस्तीलाई हटाउने र त्यसलाई व्यवस्थित गर्ने उद्देश्यका साथ अभियानमा अगाडि बढेका छौ । यो अभियानमा नगरवासीहरुको अत्यन्तै महत्वपूर्ण चासो र सहयोग रहिआएको छ । त्यसले गर्दा पनि यो काममा सफलता मिलेको छ । बाँसगढी नगरपालिका भनेको थारु जातीहरुको वाहुल्यता भएको नगरपालिका हो । यहाँ झन्डै ४८ प्रतिशत थारुहरुको बसोवास रहेको छ । त्यस कारण संविधानले व्यवस्था गरेअनुसार त्यो क्षेत्रमा अधिकांश जनसंख्याले बोलिने भाषालाई दोस्रो कामकाजको सरकारी भाषा बनाउने संविधानले निर्देशित गरेअनुसार हामीले बाँसगढी नगरपालिकामा थारु भाषालाई सरकारी कामकाजको भाषाको रुपमा बनाउने गरी निर्णय गरेका छौं र कार्यान्वयनको दिशामा अघि बढाएका छांै । त्यसको साथसाथै स्वास्थ्य, शिक्षा जो महत्वपूर्ण विषयवस्तु हुन् । तिनीहरुलाई व्यवस्थित गर्ने गरी गुणस्तरीय शिक्षा, बहुपोषण कार्यक्रम सञ्चालन गर्ने र त्यस्तो एउटा कार्ययोजना सहित अगाडि बढ्ने कार्यक्रम बनाएका छौ । त्यसका विभिन्न समिति, उप–समितिहरु गठन पनि गरेका छौ ।

४. स्थानीय तहमा शिक्षाको गुणस्तर बढाउन कस्तो योजना बनाउनु भएको छ ?

 गुणस्तरीय शिक्षा विना योग्य जनशक्ति उत्पादन गर्न सकिदैन । योग्य जनशक्ति विना राज्यका निकायमा उपयूक्त नीति र योजना पनि बनाउन सकिदैन । त्यसैले शिक्षालाई व्यवस्थित गर्ने सन्दर्भमा शिक्षा नीति बनाउने कार्यमा हामीले यस क्षेत्रका शिक्षक, वुद्धिजीवीहरुको २÷३ चरणको भेला सम्पन्न गरिसकेका छौं । त्यसबाट महत्वपूर्ण सुझावहरु संकलन गरिरहेका छौ । ती सल्लाह, सुझावका आधारमा शिक्षा नीति बनाएर बाँसगढी नगरपालिकामा गुणस्तरीय शिक्षा र सबैको पहुँचको शिक्षाको रुपमा  कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने योजना बनाएर अगाडि बढिरहेका छौ ।

५. नगर सभाबाट पारित गरेका नीति तथा कार्यक्रमहरु मध्ये यस आर्थिक वर्षको प्रथम चौमासिक भित्र गर्ने कामहरु कति प्रतिशत सम्पन्न भएका छन् ? 

 यो मैले पहिले पनि भने वास्तमा अहिलेको समय भनेको नीतिगत योजना बनाउने चरण जस्तो मात्रै देखिएको छ । किनकी हामीले असार महिनाको अन्तिमतिर मात्रै सपथ ग्रहण ग¥यौ । त्यसपछि हामीले ऐन, नियम र कानून बनाउने सन्दर्भमा मात्रै लामो समय खर्चिनु प¥यो । त्यसो गर्दाखेरी हामी साउनको अन्त्यतिर मात्रै नगर सभा सम्पन्न ग¥यांै । त्यसै समयमा बाढी आएका कारण एक हप्ता जति हामी हाम्रो नियमित कार्यक्रममा उपस्थित हुन सकेनौ । जसका कारण हामीले नगर सभा ढिला सम्पन्न गर्न पुग्यांै । त्यसपछि फेरि दशैं तिहारको लामो विदाको सन्दर्भ अगाडि बढेको कारणले विकास निर्माणहरु पनि यो विचमा अवस्था र परिस्थितिले आवश्यक पर्ने स्थानीय कच्चा पदार्थहरु निकासी गर्ने कुरा, खोल्ने कुरा र विकास निर्माणका निम्ति जनताको सहभागिता रहने कुरा पनि जनतासँग र कृषि पेशासँग जोडिएकोले व्यस्थताका कारण पनि कामले गति लिन सकेन । अब कात्तिक महिनाभित्र सबै उपभोक्ता समितिहरु गठन गरिसक्ने, मंसिरको पहिलो हप्ता उपभोक्ता समितिलाई तालिम दिने र उपभोक्ता समिति मार्फत सञ्चालन हुने कामहरुलाई तिव्रता दिएर अगाडि बढाउने सोच बनाएका छांै । साथै नीतिगत हिसावमा अगाडि सारिएका कार्यक्रमहरु जस्तै ः लक्षित वर्गका, सहकारीसँग जोडिएका र शिक्षासँग जोडिएका कार्यक्रमहरु छन् । ती नीतिगत कार्यक्रमहरुलाई ब्रेक डाउन गर्दैछौ । र कार्यपालिकाको बैठक बसेर ती कार्यक्रमहरुलाई अगाडि बढाउने योजना रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक १६ गते बिहीबार