28 March 2024  |   बिहिबार, चैत्र १५, २०८०

मैदान अभावका कारण दैलेखी युथ कप प्रभावित हुने सङ्केत

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज १९, २०७४  

दैलेख, १९ असोज-

दैलेखमा मैदान अभावका कारण दैलेखी युथ कप प्रभावित हुने देखिएको छ । जिल्लामा खेलकुद प्रतियोगिताका लागि मैदान नहुदा यहि २५ गतेबाट हुने भनिएको प्रतियोगिता प्रभावित हुने देखिएको छ ।

सदरमुकामस्थित नारायण क्याम्पसको मैदानमा हुने भनिएको दैलेखी युथ कप क्याम्पस प्रशासनले मैदानमा तारबार लगाएपछि समस्या उत्पन्न भएको छ । जिल्लामा खेल मैदान नहुँदा नारायण क्याम्पसको मैदानलाई प्रयोग गरिँदै आएको थियो ।

आयोजनक दैलेख युथ कपले क्याम्पस प्रशासनको उक्त गतिविधिका कारण प्रतियोगिता सञ्चालनमा कठिनाई हुने भन्दै आपत्ति जनाएको छ । जिल्लामा एउटा पनि खेल मैदान नहुँदा खेलाडी निराश भएका छन् । यसअघि कर्भड हल निर्माणका लागि डेढ करोड बढी बजेट खर्च भएपनि निर्माण अलपत्र छाडिएको छ ।

जसले गर्दा खेल प्रतियोगिता सञ्चालनमा कठिनाई हुने गरेको खेलप्रेमीहरुको गुनासो छ । आयोजकले तत्काल तार जाली हटाइदिन आग्रह गर्दै नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्कालाई यसाघी ज्ञापनपत्र बुझाएका थिए। दैलेखी युथद्वारा हरेक वर्ष दसैं तिहारको अवसरमा खेल महोत्सव आयोजना गर्दै आएको छ ।

तीन वर्षदेखि खेल मैदान प्रयोगको इजाजत दिँदै आएको नारायण क्याम्पसले यसपाली बन्देज लगाएका हो । दैलेखबाट विभिन्न कामको सिलसिलामा काठमाडौं बस्दै आएका युवाहरुले ०७१ सालदेखि दैलेखी युथकप खेल महोत्सव आयोजना गर्दै आएका छन् ।

प्रकाशित मितिः बिहिबार, अशोज १९, २०७४     11:48:20 AM  |