25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

जिसस संयोजकमा थारु र उप–संयोजकमा विष्ट

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, भदौ १०, २०७४  

यम घिमिरे, बर्दिया, १०  भदौ / बर्दिया जिल्ला समन्वय समितिको संयोजकमा माओवादी र एमाले गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । विजयीहरुलाई बर्दियाका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
जिल्ला समन्वय समितिको प्रमुखमा १२ मत ल्याई बढैयाताल गाउपालिका वडा नं ६ का माओवादी केन्द्रका शंकरप्रसाद थारु विजयी भएका छन् भने उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेका गुलरिया ६ का सुधांशुप्रकाश शर्माले ४ मत प्राप्त गरेका हुन् ।
यस्तै उप–संयोजक एमालेका बारबर्दिया नगरपालिकाका वडा नम्बर ९ का मानबहादुर बिष्ट विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार राजापुर ९ रविन्द्र मल्लले ४ मत प्राप्त गरे । जिल्ला समन्वय समितिमा ९ पदमध्ये माओवादीले प्रमुख सहित ५ पदमा र एमालेले उपप्रमुख सहित ४ पदमा विजयी हासिल गरेको छ ।
सदस्यहरुमा नेकपा एमालेबाट गुलरिया १ का रामसुमेरन यादव, माओवादीबाट गुलरिया ९ का सुर्यबहादुर सुनार र एमालेबाट बाँसगढी ४ का काशीराम अधिकारी विजयी भएका
छन् । महिला सदस्यमा एमालेबाट ठाकुरबाबा ५ की शान्ति चौधरी तथा माओवादीबाट राजापुर ५ की शान्ति चौधरी र बार बर्दिया ५ की कल्पना चौधरी विजयी भएका छन् । दलित वा अल्पसंख्यक सदस्यमा बढैयाताल १ बस्ने एमालेका धनबहादुर सुनार विजयी भएका छन् । ९ सदस्यीय जिल्ला समन्वय समितिमा एक प्रमुख, एक उपप्रमुख, तीन महिला सदस्य, तीन खुला सदस्य र एक दलित वा अल्पसंख्यक सदस्य रहने संवैधानिक प्रावधान छ ।
गाउँपालिका, उप–महानगरपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखलाई मात्र भोटिङ अधिकार रहेको जिल्ला समन्वय समितिको निर्वाचनमा १६ जनाले मतदान गरेका थिए ।
जिल्लामा ३ तह जितेको एमालेको ५ जना, ३ तह जितेको माओवादी केन्द्रको ७ जना र २ तह जितेको नेपाली कांग्रेसको ४ जना मतदाता रहेका थिए ।
जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकाहरुको प्रस्तावकमा गुलरिया नगपालिकाका प्रमुख मुक्तीनाथ यादव र सर्मथकमा उपप्रमुख सुशीला गिरी र एमालेका तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरुको प्रस्तावकमा लालबहादुर श्रेष्ठ र समर्थकमा शालिकराम अधिकारी तथा माओवादी केन्द्रका उम्मेदवारहरुको प्रस्तावकमा दुर्गाबहादुर थारु समर्थकमा अञ्जु दहित रहेका थिए । साउन २९ गते तोकिएको निर्वाचन बाढीका कारण भदौ ९ गते शुक्रबार सम्पन्न भएको हो ।

प्रकाशित मितिः शनिबार, भदौ १०, २०७४     10:35:27 AM  |