19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

ओलीको डेढ घण्टा ! देउवाले दिए ९ मिनेटमा जवाफ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ २३, २०७४  

देउवाले भने-कांग्रेसलाई राष्ट्रियताको पाठ नसिकाउनुस्

२३ जेठ, काठमाडौं । झण्डै डेढ घन्टा लामो भाषणका क्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएका आरोपहरुको खण्डन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ९ मिनेटमा गरेका छन् ।

भरतपुर प्रकरणमा कांग्रेसको मौनताबारे ओलीले लगाएको आरोपको जवाफ दिँदै देउवाले भने- हामीले निर्वाचन आयोग बनाएका छौं, संवैधानिक रुपले नै आयोग बनाएका हौं ।प्रधानमन्त्रीको उम्मेदवारी किन भनेर बोलौंला भनेको तर, ओलीले धेरै गलत आरोप लगाएपछि जवाफ दिनुपर्ने भयो भन्दै देउवाले सम्बोधन सुरु गरेका थिए ।

साथै देउवाले मतपत्र च्यात्ने काम विगतमा पनि भएको एमालेलाई सम्झाए । मतपत्र पहिले पनि च्यातिएका थिए, यो नौलो होइन, परानो कुरा नगरौं भन्दै देउवाले ओलीलाई सम्झाए ।

भरतपुरको विषयमा एमाले अदालत गएको र अन्तरिम आदेश आएको भन्दै उनले अदालतको आदेशलाई मानेर अघि बढ्ने बताए ।

प्रधानन्यायाधीशविरुद्धको महाअभियोगबारे पनि प्रश्न उठाएको भन्दै देउवाले यो फिर्ता भइसकेकाले अब यसमा बहस गरिरहनु नपर्ने बताए । तर, एमालेले संसद चल्न नदिएकै कारण फिर्ता हुन ढिला भएको उनले बताए ।

देउवाले आफूहरुसँग भएको सहमतिअनुसार नै प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएको भन्दै प्रचण्डलाई धन्यवाद दिए ।

प्रचण्डको राजीनामाबारे ओलीले निकै चिन्ता गरेको भन्दै देउवाले भने, ‘यस्तो चिन्ता पछि पनि गर्दैर् गर्नुहोला ।’

देउवाले ओलीको दाबीको खण्डन गर्दै हुलाकी राजमार्ग एमालेले नभएर गिरिजाप्रसाद कोइरालाले सुरु गरेको बताए । त्यो सुरुमै दुई लेनको भएको देउवाले बताए । साथै पूर्वपश्चिम राजमार्ग चौडा बनाउने योजना पनि कांग्रेसले नै ल्याएको भन्दै हुलाकी राजमार्ग र पूर्वपश्चिम राजमार्गको चिन्ता गरेकोमा ओलीलाई धन्यवाद दिए ।

साथै असार १४ गते दोस्रो चरणको स्थानीय चुनाव गर्न आफूहरु प्रतिवद्ध रहेको भन्दै शंका नगर्न देउवाले आग्रह गरे ।

राष्ट्रियताबारे धेरै प्रश्न उठाइएको भन्दै कांग्रेस सभापति देउवाले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद कांग्रेसको मूल सिद्धान्त नै भएको बताए । राष्ट्रियतामा कुनै सम्झौता हुन नसक्ने भन्दै उनले भने, यसमा पाठ सिकाउन आवश्यक छैन ।’                                                         –  अनलाइनखबर

प्रकाशित मितिः मङ्लबार, जेष्ठ २३, २०७४     6:05:46 PM  |