कोहलपुर, १७ बैशाख / बाँकेको डुडुवा गाउँपालिका–२ छिटैपुरुवामा भएको आगलागी घटनाका पीडितलाई नेकपा एमाले बाँकेले राहात वितरण गरेको छ । नेकपा एमाले बाँकेका इन्चार्ज तथा सांसद दिनेशचन्द्र यादव, पार्टीका जिल्ला अध्यक्ष अशोक कोइराला, एमाले केन्द्रीय उद्योग बिभागका सदस्य बिजय गुप्ता आगालागी भएको गाउँमा पुगेर शनिबार राहात सहयोग गरेका
हुन् ।
पार्टीका तर्फबाट प्रति परिवार एक हजार सहयोग गरिएको पार्टी अध्यक्ष अशोक कोइरालाले बताए । कार्यक्रममा सांसद दिनेश चन्द्र यादवले राप्तीपारी हुने आगलागी घटनाको दिर्घकालिन समाधानको खोजि गरिनुपर्ने र पीडित परिवारहरुलाई उचित क्षतिपूर्ति दिनुपर्ने बताए ।
बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ छिटैपुरुवामा शुक्रवार आगलागी हुँदा ३० घर र ३० वटा गोठ जलेर नष्ट भएका थिए ।
नेपालगन्जबाट आगो नियन्त्रणका लागि गएको दमकल बाटोमै फसेपछि ठूलो क्षति भएको स्थानीयको भनाई छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो । आगलागीका कारण अन्नपात, लताकपडा नोक्सान हुनुका साथै २ वटा भैसीको पाडा र २ वटा गोरु जलेर मरेका छन् । घरहरु एकआपस जोडिएर बनाएका कारण ठूलो नोक्सानी भएको हो । सातु बनाउने क्रममा आगो लागेको स्थानीयले बताएका छन् ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, बैशाख १७, २०७४