16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

राजमार्गमा लुटपाट गर्ने गिरोह पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख १४, २०७४  

कोहलपुर, १४ बैशाख / पूर्वपश्चिम राजमार्गको कोहलपुर क्षेत्रका सामुदायिक वन जंगलमा लुकेर यात्रु तथा पैदलयात्रु लुटपाट गर्ने गिरोहलाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ । लामो अनुसन्धान र खोजतलासपछि ईलाका प्रहरी कार्यालय कोहलपुरले राजमार्गमा नक्कली पेस्तोल देखाएर लुट्ने गिरोह पक्राउ गर्न सफल भएको हो ।
नक्कली पेस्तोल देखाएर राजमार्ग क्षेत्रका जंगलमा लुटपाट गर्ने तीन जना पक्राउ परेका छन् ।
पूर्वपश्चिम राजमार्गको रोहनीखोला नजिक जंगलबाट नक्कली पेस्तोलसहित तीन जना पक्राउ गरेको हो । पक्राउ पर्नेमा राप्ती सोनारी गाउँपालिका ९ बस्ने सुनिल रावत, ६ बस्ने हिमाल केसी र ईश्वर डांङ्गी रहेका छन् । बुधबार दिउँसो ३ बजे उनीहरुलाई पक्राउ गरिएको कोहलपुर प्रहरी डिएसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
राजमार्गमा नक्कली पेस्तोेल देखाएर उनीहरुले लामोसमयदेखि लुट्दै आएको उनले बताए । नक्कली हतियार देखाएर लुटपाटमा संलग्न मोहनी ओली फरार रहेको डिएसपी काफ्लेले जानकारी दिए । यसरी लुटिनेमा राजमार्गमा आवतजावत गर्ने सवारी साधनदेखि जंगलमा गोठाला र घाँसपात, काठ लिन जाने मानिसहरु रहेका छन् । फरार ओलीको खोजीकार्य जारी रहेको प्रहरीको भनाई छ ।
रामजार्गमा लुटिएको भन्दै अहिलेसम्म २२ जना पीडित प्रहरी सम्पर्कमा आएका छन् । उनीहरुले संयुक्त लिखित उजूरी दिएका
छन् । पक्राउ पर्ने तीन जनालाई अदातलबाट म्याद थप गरि प्रहरीले अनुसन्धान थालेको छ ।

प्रकाशित मितिः बिहिबार, बैशाख १४, २०७४     12:22:31 PM  |