19 May 2024  |   आइतवार, जेष्ठ ६, २०८१

तरकारी खेतीबाट दश लाख आम्दानी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख ७, २०७४  

कोहलपुर, ७ बैशाख / तरकारी खेती गरेर बैजनाथ १ चिसापानीका महिला कृषकहरुले १० लाख रुपैंया आम्दानी गर्न सफल भएका छन् । नवजीवन आइपिएम कृषक समूह चिसापानीमा संचालित बेमौसमी तरकारी खेती उपआयोजनाको बुधबार अन्तिम सार्वजनिक सुनुवाई गर्दैै सो रकम बराबरको आम्दानी गर्न सफल भएको जनाएको हो ।
महिला कृषकहरुले उत्पादन गरेको बेमौसमी तरकारी विक्रीबाट उक्त रकम बराबरको आम्दानी गरेको आर्थिक सल्लाहकार नन्द बहादुर थापाले जानकारी दिए । समूहले उपआयोजना अवधिभर ७५० क्विन्टल बन्दा, ५३० क्विन्टल काउली, ९९० क्विन्टल टमाटर, ५३० क्विन्टल भिण्डी र ८५० क्विन्टल कांक्रो विक्री गरेको जनाएको छ ।
साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना  (रिफमएफपी)को सहयोगमा संचालित उपआयोजनामा ५५ लाख ५९ हजार ६ सय २५ रुपैंयाको लागत रहेको थियो । जसमा समूहको २२ लाख १० हजार ३ सय लगानी रहेको थियो । साथै उपआयोजना अवधिमा खरिद गरिएको कृषी औजारहरुको सम्पूर्ण मर्मत, सम्भार खर्च समूहले नै व्यहोर्ने बताइएको छ । उपआयोजनापछि व्यवसायीक तरकारी खेतीलाई निरन्तरता दिने समूहले जनाएको छ ।
बैजनाथ १ वडा सचिव बसन्तकमल आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एनएनजिओका दीपलाल चौधरी, राजनैतिक दलका नेता, वुद्धिजिवी, समाजसेवी लगायतको सहभागिता रहेको थियो । सार्वजनिक सुनुवाई कार्यक्रम समूहका अध्यक्ष विष्णु बुढाको सभपातित्वमा भएको थियो ।

प्रकाशित मितिः बिहिबार, बैशाख ७, २०७४     1:24:47 PM  |