23 June 2021  |   बुधबार, असार ९, २०७८

जंगलमा गाडी रोके कारबाही

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, चैत्र १८, २०७३  

कोहलपुर, १८ चैत्र / के तपाई जंगल क्षेत्रमा गाडी रोक्दै हुनुहुन्छ ? यदि रोक्दै हुनुहुन्छ भने सावधान ! बाँके राष्ट्रिय निकुञ्जले त्यस्ता सवारीसाधनहरुलाई कानुनी कारबाहीको दायरामा ल्याइरहेको छ ।
निकुञ्ज क्षेत्रमा सवारीसाधन रोक्न निषेध भएपनि चालकले गाडी रोकी यात्रुहरुलाई शौच गराउने, प्लाष्टिक बोतलहरु फाल्ने गरेका छन् । नियम प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा गाडी चालकहरुको मनोमानी बढेको हो ।
निकुञ्जले नियमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरी कारबाही गर्न थालेपछि जंगल क्षेत्रमा सवारीसाधन रोक्ने प्रवृत्तिमा केही हदसम्म भने कमी देखिएको
छ ।
‘तत्काललाई चेतावनी स्वरुप ५ सय देखि एक हजारसम्म जरिवाना गर्ने गरेका छौं’ बाँके निकुञ्जका सहायक संरक्षण अधिकृत लालबहादुर भण्डारीले भने ।
जंगलमा गाडी रोकी जथाभावी फोहोर फ्याके वा शौच गरे नियमानुसार अधिकतम ५ हजारसम्म जरिवाना तोकिएको छ । अहिले गरिएको
५ सय देखि १ हजारसम्मको जरिवानाले पनि जंगल क्षेत्रमा गाडी रोक्ने प्रवृत्तिमा कमी नआए वा अटेर गरे ५ हजार सम्म जरिवाना गरिने निकुञ्जले जनाएको छ ।
‘चेकपोष्टहरुमा पुरुष र महिलाका लागि छुट्टाछुट्टै शौचालयको व्यवस्था गरिएको छ’ सहायक संरक्षण अधिकृत भण्डारीले भने ‘तैपनि दैनिक ३ देखि ४ वटा गाडीहरु कारबाहीमा परिरहेका छन् ।’ बिग्रिएर रोकिएका गाडीका चालकहरुलाई भने फोहोर नफाल्न भनिएको भण्डारीले बताए ।
सवारीसाधन जंगल क्षेत्रमा रोकी दिसापिसाब गर्ने, प्लाष्टिकका फोहोर फाल्नाले वन्यजन्तुमा नकारात्मक असर परिरहेको चोरी शिकार नियन्त्रण युवा जागरण उपसमिति  (सिबिएपियू) सञ्जाल बाँके अध्यक्ष कृष्ण चौधरी बताउँछन् । सिबिएपियू दिवसका दिन ३० किलोमिटर (ओभरी देखि अगैया सम्म) सरसफाई गरिएको बताउँदै उनले प्लाष्टिक जन्य फोहोरले स्वच्छ वातावरणलाई खल्बल्याउने बताए ।
जंगल क्षेत्रमा गाडी रोके कारबाही गर्ने प्रक्रिया यसअघि नै बढेपनि जनशक्ति अभावमा त्यो कार्यान्वयन हुन सकिरहेको थिएन । गत फागुन महिनाबाट निकुञ्जले तीव्र रुपमा कारबाहीको प्रक्रिया अघि बढाएको हो । जसका लागि निकुञ्जको टोली, नेपाली सेना, सिबिएपियुका युवाहरुले बेलाबेलामा गस्ती समेत गर्ने गरेका छन् ।
निकुञ्जले ओभरीदेखि शिवखोलासम्म टाईमकार्ड लागू गरेको छ । जंगल क्षेत्रमा चालकले ४० किलोमिटर प्रतिघण्टाका दरले गाडी चलाउनुपर्छ । तर, सवारी चालकहरुले त्यसको उल्लंघन गर्ने गरेका छन् । चालकहरुले ओभरीमा टाइमकार्ड लिइसकेपछि गाडी तीव्र गतिमा चलाउने र बीच जंगलमा गाडी रोक्ने, दिसापिसाब गराउने गर्दछन् । जंगलमा गाडी रोक्दा समेत समयअघि नै पुगिने जस्तो भयो भने गाडी एकदमै विस्तारै चलाउने गरेका छन् ।
टाइमकार्डको उल्लंघन हुन नदिन पनि जंगलमा सवारीसाधन रोके कारबाही गर्ने कार्य प्रभावकारी देखिने सिबिएपियूका चौधरी बताउँछन् ।

प्रकाशित मितिः शुक्रबार, चैत्र १८, २०७३     12:37:48 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *