18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

उपाधिका लागि संकटा र रुपन्देही ११ भिड्दै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, चैत्र ३, २०७३  

कोहलपुर, ३ चैत्र / नेपालगञ्जमा जारी दोस्रो नेपालगञ्ज टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज सीएमजी क्लब संकटा र अग्नी रुपन्देही–११ प्रतिस्पर्धा गर्दैछन् । सशस्त्र प्रहरीलाई २–१ र सुदूरपश्चिम–११ लाई ट्राइबेकरमा ५–३ गोलले पराजित गरेर संकटा नेपालगञ्ज गोल्डकपको फाइनलमा पुगेको हो । रुपन्देही लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र प्रहरीलाई जितेर फाइनलमा पुगेको हो । मनाङ र प्रहरी दुवैलाई समान २–१ गोलले पराजित गरेको थियो । फाइनलमा पुगेका दुवै टोलीले अघिल्ला दुई खेलमा शुरुवातमा गोल खाएर पनि नतिजा उल्टाएका थिए ।
यी दुई टोली यो वर्ष एकपटक मात्रै भेट भएको छ । धरानको बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा भेट हुँदा संकटाले २–१ ले बाजी मारेको थियो । दुवै टीम उपाधि जित्न उच्च मनोबलका साथ मैदानमा उत्रिदै छन् । नेपालगञ्ज बाहेक संकटा यो वर्ष ६ वटा प्रतियोगिताको फाइनलमा पुगेको छ । तीन वटामा उपाधि जितेको छ भने तीन वटामा पराजय व्यहोरेको छ ।
संकटाका प्रशिक्षक सल्यान खड्गीका अनुसार, संकटाले बुटवलको तिलोत्तमा, नारायणघाटको विकास रनिङ शिल्ड र सिमरा गोल्डकपको उपाधि जितेको छ । सुदूरपश्चिमको खप्तड, नवलपरासीको राइनो राइजिङ र धरानको बुढासुब्बा गोल्डकपमा फाइनलमा पराजित भएको थियो ।
प्रशिक्षक खड्गीले पहिलो भन्दा दोस्रो प्रतियोगितामा खेलाडीले स्तरीय प्रदर्शन गर्न नसकेपनि टोली फाइनलमा पुगेकाले अब सुधार गरेर उपाधि जित्ने विश्वास गरे ।
रुपन्देही–११ यो वर्ष अर्को उपाधि थप्ने योजनामा रहेको छ । रुपन्देहीले एक महिना अघि उदयपुरको गाइघाट गोल्डकप जितेको थियो । सुरुङ्गा गोल्डकपको फाइनलमा सशस्त्र प्रहरीसँग ट्राइबेकरमा पराजित भएको थियो । रुपन्देहीका प्रशिक्षक दयाराम सापकोटाले मनाङ र प्रहरीजस्तो बलियो टोलीलाई पराजित गरेकाले खेलाडीको मनोबल उच्च रहेको बताए ।

प्रकाशित मितिः बिहिबार, चैत्र ३, २०७३     12:15:41 PM  |