18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

स्ववियु चुनावमा होमिए बर्दियाली विद्यार्थी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन १६, २०७३  

कोहलपुर, १६ फागुन / स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति नजिक आउँदै गर्दा विद्यार्थीहरुमा चुनावको रन्को पनि बढ्दै गएको छ । निर्वाचनका लागि उम्मेदवारी दर्तासँगै विद्यार्थीहरुले प्रचारप्रसार पनि तिब्र पारेका छन् । आ–आफनो प्यानलको झण्डा, व्यानरसहित विद्यार्थीहरु भोट माग्दै घरदैलोमा लागेका छन् ।
आइतबार बर्दियाका विभिन्न क्याम्पसमा उम्मेदवारी दर्ता भएको छ । फाल्गुण १८ गते सम्पन्न हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि वर्दिया जिल्लाको बबई बहुमुखी क्याम्पस गुलरिया, अमरसहिद वहुमुखी क्याम्पस राजापुर, चुरे क्याम्पस बगनाहा र बाँसगढी बहुमुखी क्याम्पस र बर्दिया बहुमुखी क्याम्पस ककौरा, मनुषा टिकासिंह बहुमुखि क्याम्पस भुरिगाउँमा विद्यार्थी संगठनहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
बबई नगरपालिकास्थित मनुषा टिकासिंह बहुमुखी क्याम्पस भुरिगाउँमा अनेरास्ववियू र अनेरास्ववियू(क्रान्तीकारी) विद्यार्थी संगठनको संयुक्त प्यानल चनावी मैदानमा उत्रेको छ । भने नेपाल विद्यार्थी संघ एक्लै चुनावी प्रतिस्र्पधामा होमिएको छ । संयुक्त प्यानलको तर्फवाट जीवन रिजालको नेतृत्वमा र नेपाल विद्यार्थी संघको तर्फवाट खेमराज ढकालको नेतृत्वमा विद्यार्थी संगठनहरु चुनावमा होमिएका छन् ।
यसैगरी चुरे क्याम्पस बगनाहामा अनेरास्ववियू, अनेरास्ववियू(क्रान्तीकारी) र राष्ट्रिय प्रजातान्त्रीक विद्यार्थी संगठनको संयुक्त प्यानलको तर्फवाट रक्तरन्जित देवकोटाको नेतृत्वमा र नेपाल विद्यार्थी संघको तर्फवाट नगेन्द्र हमालको नेतृत्वमा विद्यार्थी संगठनहरु चुनावमा उत्रिएका छन् । राजापुरस्थित अमर शहिद बहहुमुखी क्याम्पस राजापुरमा ने वि संघ र थरुहट तराई वियुले आआफने उम्मेदवारी दर्ता गरेका छन् । भने अनेरास्वबियु र अखिल क्रन्तिकारीले संयुतरुपमा उम्मेदवारी दर्ता गरेका छन् ।
राजापुरको अमरशहिद बहुमुखि क्याम्पस र भुरिगाउँको मनुषा टिकासिंह क्याम्पसमा पहिलो पटक स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन लागेको हो । चुनावको माध्यमबाट प्रजातान्त्रीक पद्धतीको अनुसरण गर्न पाउँदा विद्यार्थीहरु निकै उत्साहित भएका छन् ।

प्रकाशित मितिः सोमवार, फाल्गुन १६, २०७३     12:53:55 PM  |