19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

कोहलपुरको सुरक्षा व्यवस्था कडा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, भदौ ९, २०७३  

दैनिक २० बढी नियन्त्रणमा, दुई डाक्टर पनि परे
केशव राना
कोहलपुर, भदौ ९
चाडपर्व नजिकिएसँगै कोहलपुर प्रहरीले यस क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको छ । हरितालिका तीज, दशैं, तिहार लगायतका चाडपर्वमा आपराधिक क्रियाकलापहरु हुन सक्ने भन्दै सुरक्षा व्यवस्थालाई कडा बनाएको हो । ‘चाडपर्व नजिकिएपछि सुरक्षा व्यवस्थालाई कडा बनाएका छौं’ कोहलपुर प्रहरी प्रमुख डिएसपी सुरेशप्रसाद काफ्लेले भने ‘हामी सुरक्षा योजना बनाएर सुरक्षा व्यवस्थालाई चुस्त र व्यवस्थित पार्नतर्फ लागेका छौं ।’
चाडपर्वको समयमा लुटपाट, बलात्कार, चोरी, झैझगडा लगायतका घटनामा वृद्धि हुने भएकाले त्यस्ता गतिविधी रोक्न रातको समयमा विशेष रुपमा प्रहरीहरु परिचालन गरेको कोहलपुर प्रहरीले जनाएको छ ।
‘रातीको १० बजेपछि अनावश्यक रुपमा बाहिर ननिस्कन माइकिङ्ग पनि गरेका छौं’ डिएसपी काफ्लेले भने । सुरक्षा व्यवस्था मजबुद् बनाइएको भन्दै यस क्षेत्रमा शान्ति सुरक्षा कायम हुने उनले बताए । उनका अनुसार चाडपर्वमा सुरक्षा चुनौतिका हिसाबले यो क्षेत्र चाडपर्वमा अलिक असुरक्षीत देखिएको छ ।
चाडपर्वमा सबैभन्दा बढी असुरक्षित महिलाहरु हुने गरेको उनको भनाई छ । हुनसक्ने अपराधिक घटनालाई न्यूनिकरणका लागि व्यापक रुपमा गस्ती, प्रहरीहरु परिचालन गरेको उनले बताएका छन् । रातको समयमा मदिरा खाएर होहल्ला गर्ने झैझगडा गर्ने व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ । थुनुवा कक्षमा दैनिक कम्तीमा पनि २० जना नियन्त्रणमा रहने गरेको डिएसपी काफ्लेले बताए । दर्जन युवाहरुलाई सार्वजनिक मुद्दा चलाइसकेको बताउँदै डिएसपी काफ्लेले सामान्यलाई सम्झाई बुझाई छाडिएको बताए । नियन्त्रणमा पर्नेमा सर्वसाधारण, ट्यापेमुन्द्रे मात्र छैनन्, शिक्षण अस्पताल कोहलपुरमा कार्यरत दुईजना डाक्टरहरु पनि परेका छन् । मदिराले मातेका उनीहरुलाई मध्यरातमा नियन्त्रणमा लिएर बिहान छोडेको डिएसपी काफ्लेले जानकारी दिए ।

प्रकाशित मितिः बिहिबार, भदौ ९, २०७३     9:31:22 AM  |