कोहलपुर, साउन २६
सामुदायिक वन राष्ट्रिय दिवसको अवसरमा मंगलबार कोहलपुर १३ खड्कवारमा वृक्षारोपण गरिएको छ । खड्कवारस्थित नमुना मध्यवर्ती सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरिएको हो । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ बाँकेको आयोजना तथा नमुना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिको व्यवस्थापनमा वृक्षारोपण कार्यक्रम गरिएको हो । कार्यक्रममा रक्तचन्दन, सीताअशोक, ल्वाङ लगाएतका विरुवा वृक्षारोपण गरिएको छ । “सामुदायिक वनको पहिचान, राष्ट्रिय सम्बृद्विको अभियान” भन्ने मुल नाराका साथ प्रथम सामुदायिक राष्ट्रिय दिवस सामुदायिक वन उपभोक्ता महासंघले बाँके लगायत देशैभर विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
कार्यक्रममा कोहलपुर नगरपालिकाका कार्यकारी अधिकृत माधव प्रसाद शर्माले नमुना मध्यवर्ती सामुदायिक वन क्षेत्रभित्र रहेको पार्कलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न नगरपालिकाले महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ बाँकेका संस्थापक अध्यक्ष भिम प्रसाद देवकोटाले पार्कलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सबैको आ–आफ्नो तर्फबाट पहल गर्नुपर्ने औंल्याए । कार्यक्रममा नेपाली काँग्रेस कोहलपुर नगर समिति सभापति बलराम शर्मा, नेकपा एमाले कोहलपुर नगर कमिटि अध्यक्ष खिल प्रसाद भुषाल, सामुदायिक जिल्ला विकास समिति बाँके अधिकृत राम बहादुर यादव, जिल्ला वन कार्यालय बाँकेका सहायक वन अधिकृत मिनेन्द्र सराफ, वन उपभोक्ता महासंघ बाँकेका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको
थियो ।