16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

अमरज्योतिमा स्मार्टबोर्डबाट पढाई

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, साउन १८, २०७३  

गोविन्द देवकोटा
सुर्खेत, साउन १८
प्रविधिको कमिका कारण सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घटेका हुन् भन्ने मानसिकतालाई चिर्दै वीरेन्द्रनगर उपत्यका भित्रको एउटा विद्यालयले विद्यार्थीलाई स्मार्ट बोर्डबाट अध्यापन थालेको छ । छ दशक लामो इतिहास बोकेको अमरज्योति उच्च मावि नेवारेले विद्यार्थीको शैक्षिक गुणस्तरको लागि नयाँ प्रविधिबाट अध्यापन थालेको हो ।
यस शैक्षिक सत्रदेखि अमरज्योतिले सुर्खेतमा सामुदायिक विद्यालयहरुमध्ये पहिलोपटक स्मार्ट बोर्डबाट अध्यापन सुरु गरेको विद्यालयका प्रचार्य डिल्लीप्रसाद उपाध्यायले बताए । २०६७ सालदेखि अंग्रजी माध्यममा समेत पढाई सुरु गरेको विद्यालयले विद्यार्थीको शैक्षिक गुणस्तर सुधार गर्न र प्रविधिको माध्यमबाट पढाइलाई सहज बनाउनका लागि सुर्खेतमा पहिलो पटक स्मार्ट बोर्डमा पढाई सुरु गरेको प्राचार्य उपाध्यायको भनाई छ । हाल कक्षा ६ मा दुईवटा सेक्सन्मा स्मार्ट बोर्ड प्रविधिबाट पढाई भइरहेको छ । पहिलो वर्षमा व्यवस्थापनमा कठिनाई हुने भन्दै यस शैक्षिक सत्रका लागि विद्यालयले गत बैशाखमा ३० जना विद्यार्थीको कोटामा आवेदन मागेको थियो । प्रवेश परिक्षाका लागि ७१ जनाले आवेदन दिएकोमा सबै विद्यार्थीका अभिभावकले आफुहरुको तर्फबाट हुन सक्ने सहयोग विद्यालयलाई गर्ने तर सबै विद्यार्थीलाई स्मार्ट बोेर्डमा अध्यापन गराउन आग्रह गरेपछि दुईवटा सेक्सनमा पढाई सुरु भएको हो । कम्प्युटर र प्रोजेक्टरको सहायताले स्मार्ट बोर्डमा पढाई सुरु गरेपछि विद्यार्थीहरुलाई समेत सहज भएको छ ।

प्रकाशित मितिः मङ्लबार, साउन १८, २०७३     12:02:29 PM  |