राबन विश्वकर्मा
बर्दिया, असार ३०
बाँसगढी नगरपालिकाबाट प्रदान गरिने सेवा र सुविधा सम्बन्धी सार्बजनिक सुनुवाई कार्यक्रम बुधबार बेलवामा सम्पन्न भएको छ । साबिक डेउढाकला, मोतिपुर र बेलवामा छुटाछुटै सार्वजनिक सुनुवाई गर्ने निर्णय अनुसार बेलवामा तेस्रो सार्वजनिक सुनुवाई गरिएको हो । कार्यक्रममा खुल्ला छलफल गर्दै बाँसगढी नगरपालीकाबाट दिइने सामान्य सिफारिस लगायत विभिन्न प्रशासनिक कार्य, लक्षित बर्गको बजेट, बाटो ग्राभेल, कल्भर्ट निर्माण, होम पाईप, स्वास्थ्य, कृषि, विद्युत लगायतका बारेमा सेवाग्राहीहरुले जिज्ञासा तथा सुझाब राखेका थिए । सेवा ग्राहीहरुले राखेका जिज्ञासा र सुझाबहरुको जवाफ दिर्दै बाँसगढी नगरपालीकाका कार्यकारी अधिकृत बखत बहादुर खड्काले वडा कार्यालयहरुमा घुम्ती सेवा सञ्चालन गर्ने, समाजिक सुरक्षा भत्ता बितरण कार्यक्रम सरल बनाउने, लक्षित बर्गका कार्यक्रमहरुलाई प्रभावकारी बनाउनेतर्फ पहल तथा प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गरेका xन् ।
भर्खरको नगरपालिका भएकाले नगरबासीहरुले सेवा सुबिधा हिजो भन्दा आज कम र केही दुःख पाए पनि धैर्य गर्न उनले अनुरोध गरे । कार्यकारी अधिकृत खड्काले गाबिस भन्दा नगरपालिकाको दायरा फराकिलो भएकाले राम्रो र सुन्दर नगर बनाउन सबै नगरबासी सचेत भएर लाग्नु पर्ने बताए । सहजकर्ता डा.मनोज ढकालले सहजिकरण गरेको कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, साविक बेलवाका वडा नागरिक मञ्चका संयोजकहरु, शिक्षक, बुद्धिजिबी, लगायत स्थानीयको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन बाँसगढी नगरपालीकाका वडा सचिव शेरबहादुर केसीले गरेका थिए ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, असार ३०, २०७३