26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

भारत्तोलन एकेडमी निर्माणको काम शुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, असार ८, २०७३  

कोहलपुर, असार ८
सानो उमेरका बालबालिकालाई प्रशिक्षण दिएर भारत्तोलनको कुशल खेलाडी बनाउने उद्देश्यका साथ नेपालगन्जमा अन्तर्राष्ट्रियस्तरको ‘वेटलिप्mटिङ्ग फिटनेश एकेडमी सेन्टर’ को निर्माण कार्य शुरु भएको छ । एकेडमी निर्माणपछि बिशेषतः मध्य तथा सुदुरपश्चिमाञ्चलका सबै जिल्ला र पश्चिमाञ्चल क्षेत्र अन्तर्गत केहि जिल्लाका विद्यालय उमेरका बालबालिकाको छनोट गरि उनीहरुलाई सबै सुविधासहित भारोत्तोलन खेलको आधुनिक प्रशिक्षण दिइने छ । नेपाल भारत्तोलन संघका केन्द्रीय अध्यक्ष रतन टंडनका अनुसार, केटा र केटी गरि करिब ५० जना प्रशिक्षार्थी अटन सक्ने क्षमताको तीन तले एकेडमी भवन निर्माणको काम दुई वर्षभित्र सक्ने लक्ष्य निर्धारण गरिएको छ ।करिब रु। एक करोडको लागतमा निर्माण हुने एकेडमी भवनमा भारत्तोलन प्रशिक्षणका लागि आवश्यक पर्ने करिब रु एक करोड बराबरको उपकरण समेत जडान गरिने छ । एकेडमी भवनमा तालिम कक्ष, प्रतिक्षालय कक्ष, चेन्जिङ्ग कोठा, सुत्ने कोठा, पुस्तकालय, भान्साघर, सोनाबाथ लगायत सुविधा सम्पन्न संरचनाको व्यवस्था गरिएको कन्सल्टेन्ट इन्जिनियर महेश थापाले जानकारी गराए । दक्षिण एशियाली भारोत्तोलन संघका संयोजक समेत रहनु भएका टंडनका अनुसार, नेपालगन्ज रंगशाला क्षेत्रको कूल चार हजार स्क्वाएर फिट जग्गा एकेडमी अन्तर्गत रहने र कूल जग्गा मध्ये दुई हजार ८०० स्क्वाएर फिटमा भवन निर्माण हुनेछ । एकेडमीमा तालिम दिइने विद्यार्थीको अध्ययन लगायतका सबै खर्च संस्थागत हुनेछ भने एकेडमीको प्रशासन र अन्य प्राविधिक खर्चका लागि सहयोगी हातहरु खोजिने पनि अध्यक्ष टंडनले बताए । मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति परिसरमा निर्माण थालिएको सो सम्बन्धि सम्झौतामा संघका अध्यक्ष टंडन र समितिका अध्यक्ष भीम ओलीबीच सम्झौतापत्रका हस्ताक्षर समेत भइसकेको छ । भवन निर्माण र उपकरण जडानका लागि नेपाल सरकार, राष्ट्रिय खेलकूद परिषद् र अन्तर्राष्ट्रिय भारोत्तोलन संघ र एशियाली भारोत्तोलन संघवाट आर्थिक तथा अन्य सुविधा प्राप्त हुने जनाइएको छ ।

प्रकाशित मितिः बुधबार, असार ८, २०७३     9:36:52 AM  |