अनुभूति
भौतिक मल्ल ‘जंगली’
थानकोटको बिटबाट हेर्दा धपक्कै बलेको जस्तो लाग्थ्यो काठमाडौं । मन्जुश्रीले पखेटा छोडेको र पृथ्वीनारायण साहले ढोका खोलेको यो तलाउको वास्तविकता बारे अपवाद पुस्तकमा पढे पनि यस्को वृतान्तबारे भने अनविज्ञ नै छु । प्रायः यो शहर ससुराली गाउँ जस्तै भएको छ । झट्टै आइन्छ झट्टै गइन्छ । पानी पँधेरो जस्तै लाग्ने यो शहरसँग आउनुका बाध्यता भने बेग्लाबेग्लै छन् । सपनाहरूको भारी बोकेर भित्रिन्छ मान्छे निल आर्मस्टङको जुन बोकेर । आईन्स्टाईको सिद्वान्त घोकेर उक्लिन्छ नौबीसेको उकालो खै कतिका पूरा हुन्छन् ? कतिका अपुरा थाह छैन । पिठ्युँमा कालो क्यामेलमाउन्टको झोला रातो नर्थफेसको जकेट कालो जिनको पाइन्ट ख्याउटेख्याउटे लाग्ने एउटा चित्र काठमाडौंको ओराली झर्छ । खै के छ उसँग काठमाडौंसंगको नाता के छ ? सम्बन्ध के छन् ? सपनाहरू ऊ किन यसरी आफ्ना जीवित सपनाहरू बोकी भित्रिरहेको छ ।
सजीवता बिनाको मृत शहरमा उसको वरीपरी एउटा अनौठो दृश्य घुमिरहेको छ । कलंकी पुग्दा झम्मक अंधरीले घेरा हाली सकेको
थियो । यात्रुहरू बिस्तारै झर्ने क्रम चलिरहेको थियो । अंह तर उसलाई झर्ने कुनै टुङ्गो थिएन । कहाँ झर्ने र कताको गन्तव्य तताउने र कता रात बिताउने त्यो पनि केही पत्तो थिएन । बस हुइकिरहेको थियो । संगै मन पनि बेजोडसंग हुइकिरहेको थियो । यसो त ऊ काठमाडौं छिरेको यो पहिलो चोटी पनि हैन । तर अरूबेला र आज उसको मनस्थिति फरक छ एकदम फरक खै किन–किन उसलाई फरक लागिरहेको छ । फरक लाग्नुको अलाबा उसंग केहि, फरक दृश्य पनि
छैन । तर बिल्कुल फरकपन महशुस गरिरहेको छ । हरेक पाइलाहरुमा फरक पन आउनु उसको भोगाइको नियति बनी सक्यो सायद हिजोआज ऊ फरकपनहरूमा पनि रमाउन छाडिसकेको छ । बस गति स्लो हँुदैथियो सायद नयाँ बसपार्क पुगियो क्यार । अनौठो रस्वादनको चुठ्की बजाउँदै थियो बसपार्क संधै मान्छेहरूको भिडभाड कोलाहलमय हुने गङ्गबु बसपार्क त्यो दिन पनि अछुतो त थिएन । तर भुकुम्पले केही मनस्थिति भने परिवर्तन गराई दिएको हुनुपर्छ ।
बसपार्क आयो ल झर्नुस् सबै, खलासीले संकेत गरे । खलासीको निर्देशनसंगै हातमा झोला समातेर झर्यो उसले तन्कायो शरीर, भलादमी बन्न खोज्यो । ऊ एकछिन भाउ खोज्यो । ल हजुर होटल चाहिएको छ भने आउनुस् राम्रो सुविधा भएको सस्तो सुलभ मिलाएर बसालौला । आउनुस् अंह सुनेन् । यसो दुईचार पैसो खल्तीमा भए दुनिया किन्दिने संस्कृतिको मारमै छ ऊ । त्यो भन्दा माथि उक्लन सकेको छैन । होटल व्यवसायीहरूको मार्केटिङ गजबको
थियो । समय धेरै पर गइसकेको थियो । रात रापिदै थियो । कतै बाँस खोज्नु बाहेक सब भ्रम । ऊ तिनै मार्केटर पछिपछि सरासर एउटा होटलमा पुग्छ । साउसंगको सामान्य सहमती पछि त्यतै बस्ने टुंगोमा पुग्छ । यसो त उसको लागि यो रात त्यति अनौठो पनि हैन गङ्गबुका होटल साहुहरुको संस्कार देखेर त्यती अपरिचित छैन । यस्तै एकतमासका र हल्ली खल्लीका सयौं रातहरू बिताइसकेको छ । कोठा नं ३०५ पूर्व पट्टी ठुलो झयाल रंगिन पर्दा अनि निलो रंगको एउटा कुर्सी, नचल्ने टिभी, कतै भित्ताहरुमा पुकारका छापहरु अनि डस्बिनमा खैनी सुर्ती र कन्डमका पोकाहरु त्यती अनौठो र दृश्य त थिएन् । स्वभाविक नै हो त्यति हुनु प्राय विदेशीने युवाहरुको अखडा नै हो गङ्गबु । दिनभरि मेनपाओर र दलालहरुका पछि धाउन ठिक्क साँझ परेपछि दोहरी साँझ र डिस्कोहरुमा ठिक्क अनौठो दृश्य देख्न पाइन्छ नयाँ बसपार्क नुन दलालदेखि सुन दलालहरु सम्माको हाली मुहाली हुन्छ । यसो त दिनदाहडै ठगिने ईमान्दारहरु पनि हुन्छन् । ईमान्दार र बेइमानहरुको अनौठो रस्साकस्सी चल्ने ठाउँ हो नयाँ
बसपार्क । ग्रामिण इलाकाबाट अएका मान्छेहरु सजिलै दलालहरुका चंगुलमा पर्छन् । अझ त विदेश पठाउने निंहुमा युवाहरु बेचिने सुरक्षित थलो हो । काठमाडौँ त्यो भित्रको गङ्गबु त झन चलखेल गर्ने मजाको ठाँउ हो ।
विधिगत ढङ्गले बेचिन्छन् नेपाली युवाहरु त्यसैको रेमीटेन्समा चल्छ नेपालको सरकार अनौठो छ यहाँको चलन । राजधानी सपनाको शहर यहाँ सपनाको हराभरा फुलबारी छ र यही फुलबारीमा रमाउन उक्लिन्छन् कति मान्छेहरु सपनाहरुको सिंडी चडछन् । र कति फेदीमै हराँउछन् ।
अनौठो छ काठमाडौँ यहाँ धेरै जसो सपनानै खेती र रोपाई गरिन्छ । तर कति सार्थकतामा परिणत हुन्छन् ख्वै थाह
छैन । एक रात त्यही होटेल नामको हिरासतमा बिताइयो । बिहान उठेर भेटघाटको प्रोसेस शुरु गरियो । यहाँ त भेटघाटमा पनि पैसा लाग्छ रे । सुनेको खै कस्तो हुन्छ मेरो भेटघाट र म मान्छे जब कमजोर मनस्थितिमा हुन्छ सानो कुरामा पनि ठुलो अपेक्षा गर्छ र उसको मनभरी आशाका थरि थरिका पालुवाहरु पलाउन सुरु गर्छन् । अनि सुरु गर्छ आकाशे खेतीको आशा र अपेक्षाहरुका पनि त सिमा हुन्छन् । अंह मान्छे त्यो सीमाभित्र कहिल्यै कैद हुँदैन र हुनै सक्दैन् । त्यसकै मार छ यो जंगली केटो पनि असिमित अपेक्षाहरु बोकी तम्सन्छ लुरु लुरु लक्ष्य हिन गन्तव्य तिर अनौठो छ उसको भोगाई पनि वाह अनौठो छ । बिहान चिया पिउन एउटा चिया पसलमा पुग्छ चियासंग मुस्कान बिकिरहेको देख्छ । र सोच्छ यो शहरमा व्यापार कम इमान बढी बिक्री हुन्छ क्यार चियाभन्दा मिठो मुस्कान बेचिरहेकी लाग्थिन् ती आइमाई उनीसंग उनको लोभ लाग्दो जवानी पनि बिकिरहेको हुन्छ । लोभ लाग्दो नै थियो उनको
रुपरंग । सायद त्यसैले होला चिया खुब मिठो लाग्ने पूँजिवादले लुप्त अनि पाश्चात्य साँस्कृतिको बढ्दो दबदबायुक्त शहर र शहरिया वातावरणमा हराएका दुनियालाई ती आइमाई मिठो लाग्नु अनौठो त थिएन् । गिलास नरित्युन्जेल कुरा सुनिरहे गिलास रित्तियो निक्लें त्यो गिलास चिया र मेरो जिन्दगी उस्तै उस्तै ढंगले एकछिन तुलना गरें । अब के गर्ने सोच्दै सडकका डिलमा उभिएका पोलहरु जस्तै निस्फीक्री उभिरहेको
थिएँ । जब मनस्थिति सुन्य स्थितिमा पुगोस् अझ त कुनै पनि कुराको फैसला लिन नसक्ने स्थितिमा पुगोस् के हुन्छ ? त्यही हालतमा पुगेको थियो ऊ र उसको मनस्थिति पनि सपनाहरु खरिद गर्न पुगेका थिए काठमाडौँ फुलबारीमा तोरी फुलेको शहर जस्तै लाग्ने यो शहर संग ऊ लाउरे जिन्दगी खोजिरहेको थियो । सायद हो क्यार ।
मन अलि अघिबाटै एकतमासको भैरहेको थियो । लगभग मेरो यात्राको बिचबाटोबाट यात्रामा मिसिएका मेरा सपनाहरु सँगैका सिटमा बसेका मेरा राष्ट्रियताले घचघच्याइ रहेको थियो । पुरानो धेरै समयदेखि आईरन नलगाएको एकजोर सर्ट पाइन्ट, आधा फाटेको पुरानो मैलो, जस्तै लाग्ने जिन्दगीभित्र एकजोर खालीजस्तो देखिने एउटा कपडाको व्याग भर्खर बसेका जुंगा रेखी, कालो आँखा, आखाँभरी जिन्दगीको गर्जो टार्ने पिरलो बोकेर यात्रामा निस्किएको ऊ बारम्बार आफैलाई भनिरहेको थियो । गरिबको छोरो बिहान बेलुकाको छाक टार्न कतै जागिर खानु प¥यो कि क्या हो ?
जवान केटा मान्छे आफ्नै पिरलोमा रित्तो झोला बोकेर शहर पसेको छ, अनुहार पढेर प्रष्ट थाहा हुन्छ उसको मुहार भरीका पीडा पढ्न कुनै आइतबार कुर्नु पदैन् । भुकम्पले हल्लाए जस्तै आफै हल्लीन खोज्छ बेला बेला ऊ भूकम्प गएको साल साह्रै अस्तव्यस्त भा’छ यार जीवन आफै गुनगुनाँउछ बेसुर गाउँमा महंगी र अभावले गरी खान गाह्रो भएर काठमाडौं झर्दैछु, मलाई जागिर खोजिदिनुु प¥यो’, दाजुु पल्लो सिटको पनि त्यस्तै भन्थ्यो, दाजु नाता लगाएर तर त्यो नाताले कति सार्थकता प्रदान गय्रो थाह छैन ।
संधै आएर बिश्राम लिने मेरो भाइ राजनको रुम मेरो धर्मशाला जस्तै छ । यसो त त्यो आफन्त हुनुको परिणाम पनि होला । उसको बोझमा संधै अनविज्ञ बनिरहने म उसको समास्यामा कहिल्यै साथ दिइन् । तर अंह उसले कहिल्यै आपत्ति पनि जनाएन । फेरि गन्तव्य त्यतै सोचिरहे थेँ मनमनै गोजीमा मोबाइलले संकेत दियो । यसपाला भाइ अर्जुन पाठकको फोन रहेछ धेरै लामो समयपछि सम्झेको मनमनै गदगद भएँ । त्यो भन्दा अगाडि गुरु प्रभातले पनि भेटन बोलाउनु भएको थियो । भाइ अर्जुनले भने दाजु नमस्कार कता हुनुहुन्छ ? भेटघाट छैन । उनले औपचारिकता पुरा गरे जीवनमा संधै शनिबार लागेको मैले उनको बचन भुइमा खस्नै दिइन । ल भेटौँ भनिहाले हुनत भेटहरु संधै उस्तै हुदैनन र उसतै टिक्दैनन पनि । खै उनिहरु संगको भेट कस्तो हून्छ । मलाई थाह छैन । इन्जिनियर मित्र प्रविण सिंह र प्रभात गुरुलाइ भेटनु पनि उतै सम्झेर उनको सौहार्दतालाई सहज लिएँ । यसो त काठमाडौँ आफै बिचित्रको छ । यसले नयाँ समबन्ध बनाँउछ र पुराना भतकाँउछ पनि । कतै त्यसैको सिकार त बन्ने खतरा रहदैन् । सम्बन्धको दुरी सहि ठाउँमा राख्न सकिएन भने फेरि उनले त्यसरी नै दाजु भनेर संवोधन गर्ने छैनन् र बोलाउने साहास पनि गर्ने छैनन् । एका एक काठमाडौंका आफन्त र गाँउका आफ्न्तको दुरी नाप्न मन लाग्यो । आकाश र जमिन जस्तै फरक लाग्ने आफन्तहरुको पहिचान खोज्न मन लाग्यो । हो त नि यहाँ आफ्न्त किन्नु पर्छ । गाउँमा निशुल्क पाएका पनि समाल्न गाह्रो हुन्छ । यसो त यो पनि आफुमा निर्भर रहन्छ । भन्ने बुझाई राख्छु । तुवाँलोको पातलो पर्दा ओढेर चन्द्रमाको मधुरो उज्यालो बलीरहेको जस्तो जिन्दगीको झोला बोकेर हान्निन्छु कोटेश्वर तिर । खै कति दिन टिक्ने हो त्यो सम्बन्ध अनि कति दिन रहने हो मेरा आदारणीयहरुसंग मनको अंक गणितले गतिलै हिसाब हानिरहेछ । बस, सरकार सिंहदरबारमा मस्त निदाइरहेको छ । त्यस्तै बेरोजगार जवानहरु शनिबार मनाइरहेका छन् । यसरी नै मेरो देश चलिरहेको छ र चलिरहेको छु म अर्थात मेरा प्यारा सपनाहरु ।
प्रकाशित मिति : २०७३ असार ४ गते शनिबार
प्रतिक्रिया दिनुहोस्