‘कृषि विकासमा चुनौती थपिने क्रम बढ्यो’



खजुरा (बाँके) ।

बाँकेको खजुरामा प्रादेशिक कृषि प्राविधिक कार्य समूह बैठक सम्पन्न भएको छ । कृषि अनुसन्धान निर्देशनालय, लुम्बिनी प्रदेश खजुरा बाँकेको आयोजनामा सोमबार भएको कार्यक्रममा सहभागिहरूले कृषि विकासमा चुनौती थपिने क्रम बढ्दो मात्रामा रहेको बताएका थिए । प्रादेशिक कृषि प्राविधिक कार्य समूह बैठकलाई सम्बोधन गर्दै नेपाल कृषि अनुसन्धान परिषद् योजना महाशाखा प्रमुख टेकप्रसाद गोतामेले पछिल्ला दिनमा कृषिमा आधुनिकीकरण बढ्दै जाँदा यसको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

उनले गरेको काम प्रभावकारी हुने गरी सम्बन्धित कार्यालयले समन्वय र रिपोर्टिङ समेत समयमै गर्न अनुरोध गरे । कृषि प्राविधिक र किसानको सम्बन्ध साथी जस्तो हुनुपर्ने उनले दावी गरेका थिए । महाशाखा प्रमुख गोतामेले स्थानीय तहसँग सहकार्य गरेर कृषि सम्बन्धी गतिविधि गर्न अनुरोध गरे । कृषि अनुसन्धान निर्देशनालय खजुराका निर्देशक डा.समिद अहमदको अध्यक्षतामा भएको कार्यसमूह बैठकमा उनले कृषि विकासको सवालमा सबैसँग समन्वय गर्न तयार रहेको बताए ।

पशुपन्छी तथा मस्य विकास निर्देशनालय बुटवलका पशु विकास निर्देशक श्रवणकुमार चौधरीले डिजिटल एग्रीकल्चरतिर कृषि तथा पशुविकासका कार्यक्रमहरू विकास गर्न जरुरी रहेको बताएका थिए । कृषि प्राविधिकहरूबीच गरिएको अनुभव आदानप्रदान, देखिएका समस्या र सुझाव संकलनसमेत गरिएको थियो । सहभागिहरूले कृषि क्षेत्रको विकासका लागि सरकारी निकायले नै नमूना फार्म विकास गरी किसानलाई सिकाई प्रदान गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नार्कद्वारा विकसित प्रविधिहरूको प्रस्तुति र कृषि अनुसन्धान, प्रसार र शिक्षाबीचको समन्वयमा नार्कको भूमिका विषयमा प्रस्तुति र छलफल गरिएको थियो ।   यस्तै लुम्बिनी प्रदेशभित्र कृषि सम्बन्धी अनुसन्धानमुलक समस्याहरू तथा कृषि अनुसन्धान निर्देशनालयको भूमिका एवं आगामी कार्यदिशा, पशुपन्छी सम्बन्धी अनुसन्धानमुलक समस्याहरू तथा पशु अनुसन्धान, पसार र शिक्षाबीचको समन्वयमा निर्देशनालयको भूमिकाका विषयमा प्रस्तुती र छलफल गरिएको थियो ।

लुम्बिनी प्रदेशमा रहेका कृषि तथा पशुपन्छी सम्बन्धी कार्यालय, अनुसन्धानमुलक कार्य गर्ने कार्यालय, स्थानीय तहमा रहेका कार्यालय, कृषि सम्बन्धी काम गर्ने संस्था लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक २५ गते मंगलबार