कोहलपुर, असार १
विश्व रक्तदाता दिवसको अवसरमा कोहलपुरमा भएको रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी उपशाखा कोहलपुर र तक्षशिला एकेडेमी जुनियर रेडक्रस सर्कल कोहलपुरको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी क्षेत्रिय रक्तसञ्चार केन्द्र नेपालगञ्जको सहयोगमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
‘रगत सबैसंग जोडीएको छ’ भन्ने नाराका साथ गरिएको रक्तदान कार्यक्रममा महिला पुरुषले उल्लेख्य सहभागिता जनाएका थिए । रक्तदान कार्यक्रममा जिल्ला रेडक्रस सोसाइटी बाँकेका कार्यबाहक अध्यक्ष सुर्यनाथ सापकोटाले रक्तदान गर्ने बारेमा भ्रमपूर्ण अफवाहहरु फैलाइएपनि स्वास्थ्यका लागि रक्तदान आवश्यक भएको बताए । यस्तै नेपाल रेडक्रस उपशाखा कोहलपुरका सभापति नारायण प्रसाद गौडेलले जुनसुकै अवस्थामा कसैलाइ पनि रगत आवश्यक पर्ने भएकोले रक्तदान नै जिवन दान बताए ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, असार १, २०७३