‘नमोबुद्ध’ बाघ मार्ने तस्कर पक्राउ



सुदीप अधिकारी
बर्दिया, जेष्ठ १
चितवनबाट बर्दिया राष्ट्रिय निकुञ्जको बबई उपत्यकामा ल्याईएको नमोबुद्ध बाघको सिकार गर्ने एक सिकारी पक्राउ परेका छन् । बाघ मार्ने र हाड, छाला ओसार पसार गर्ने काममा संलग्न रहेको भन्दै प्रहरीले सुर्खेत हरीहरपुर १ का राजबहादुर भन्ने लालबहादुर बिकलाई पक्राउ गरेको हो ।
बिकलाई केन्द्रिय अनुसन्धान व्यूरोले (सिआईबी) भारतको सिमलाबाट पक्राउ गरेको हो । सिआईबीले सिकारी बिकलाई बर्दिया निकुञ्जमा बुझाएको
छ । रेडियो कलर जडित ‘नमोबुद्ध’ बाघलाई बिकको समूहले २०६८ सालमा मारेका थिए । सिकारी समूहका अन्य चार जना सुर्खेत हरीहरपुर गाविस १ सालघाडीका चित्रबहादुर अधीकारी, कर्णबहादुर बिक, गोबिन्द शर्मा र हरीराम रानालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । बिक भने फरार थिए । फरार बिकलाई झण्डै ५ वर्षपछि सिआईबीले पक्राउ गरेको हो । बाघ मार्ने र हाड, छाला ओसार पसार गर्ने काममा संलग्न रहेको भन्दै बिकलाई ५ वर्षअघि १२ वर्ष कैद सजाय तोकिएको थियो ।
भारतीय सुरक्षाकर्मीहरुको समन्वयमा भारतको सिमलाबाट बिकलाई पक्राउ गरिएको सिआईबीका डिएसपी प्रविण पोखरेलले जानकारी दिए । राष्ट्रिय निकुञ्ज ऐन अन्तर्गत बाघ मार्नेलाई पाँचदेखि पन्ध्र वर्ष कैद र पचास हजारदेखि एक लाख रुपैंया सम्म जरिवाना वा दुवै सजाय हुने कानुनी प्रावधान छ ।
‘नमोबुद्ध’ नामको बाघ मार्ने गाईको सिनोमा उनीहरुले विषादी प्रयोग गरी बाघ मारेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताए । सन् २०११ को फेब्रुअरीमा सौराहको एक होटलमा घाईते भेटिएको बाघलाई उद्धार गरी ३ महिनाको उपचारपछि ‘नमोबुद्ध’ नाम राखी बाघको घाँटीमा रेडियो कलर जडान गरी वन मन्त्रालयले बर्दिया राष्ट्रिय निकुञ्जको बबई उपत्यकामा छाडिएको थियो । बर्दिया निकुञ्ज ल्याइएको झण्डै ३ महिनापछि विषादी प्रयोग गरिएको गाई बाघलाई खुवाएर सिकारीले नमोबुद्ध बाघ मारेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७३ जेठ १ गते शनिबार