20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

सल्यान हत्या प्रकरण: भैँसी बाँध्ने किलाबाट चारै जनामाथि प्रहार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख १६, २०७३  

काठमाडौं, वैशाख १६ । जिल्लाको छायाँ गाविस–९ रानागाउँमा मङ्गलबार राति एकै घरका तीन जनासहित चार व्यक्तिको हत्यामा भैँसी बाँध्ने किलाको प्रयोग भएको प्रहरी अनुसन्धानबाट पत्तालागेको छ ।

उक्त घटनामा संलग्न छायाँ गाविस–९ कै सञ्जय भारतीलाई प्रहरीले बुधबार पक्राउ गरेपछि सोधपुछका क्रममा सो कुरा खुलेको हो । भारतीले मादक पदार्थ सेवन गरी भैँसी बाँध्ने किलाले पालैपालो चारै जनाको हत्या गरेको प्रहरीलाई बयान दिएका छन् ।

उक्त घटनामा रानागाउँका रमेश खान ठकुरीकी २३ वर्षीया श्रीमती सीता, तीन वर्षीया छोरी पवित्रा, एक वर्षीया सविता र दिदीको घरमा आएकी शारदा नगरपालिका–१० मार्केकी १८ वर्षीया गीता गिरीको हत्या भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक भूपेन्द्र घर्तिमगरका अनुसार मादक पदार्थ सेवन गरेर आएका भारती र मृतकबीच मङ्गलबार राती सुरुमा सामान्य भनाभन परेको थियो ।

भनाभनपछि भारती घटनास्थलदेखि करिब एक सय मिटर टाढा रहेको आफ्नो घरतर्फ लागेका थिए । केही समयपछि उनी भैँसीको किला लिएर आई अन्धाधुन्ध प्रहार गर्दा चार जनाको ज्यान गएको हो ।

“पहिलो प्रहार सीतामाथि गरे, त्यसपछि उनकी वहिनी अनि दुई नाबालकलाई पालैपालो प्रहार गरेको अनुसन्धानका क्रममा खुलेको छ” – प्रहरी नायव निरीक्षक घर्तिमगरले भने । अभियुक्त भारतीले हत्या गर्नुको कारण भने खुलेको छैन । रासस

प्रकाशित मितिः बिहिबार, बैशाख १६, २०७३     4:24:45 PM  |