19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

कोहलपुरमा इलाका प्रशासनको टुंगो लाग्यो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख १४, २०७३  

कोहलपुर, बैशाख १४
प्रशासनिक कामका लागि नेपालगञ्ज धाउनुपर्ने अवस्थाको अन्त्य हुने भएको छ । कोहलपुरमा इलाका स्तरीय प्रशासन कार्यालय स्थापना हुने टुंगो लागेपछि कोहलपुर, वनकटवा, महादेवपुरी, कचनापुर, कुसुम, चिसापानी लगायत वैजापुरवासीहरुलाई समेत नेपालगञ्ज धाउनुपर्ने अवस्थाको अन्त्य हुने भएको हो ।
दुरीका हिसाबले नेपालगञ्ज धेरै टाढा भएको र कोहलपुर क्षेत्रमा धेरै गाविसका नागरिकहरुको पहुँच भएकाले पनि इलाका प्रशासन कार्यालय कोहलपुरमा आवश्यकता थियो । विगतका वर्षदेखि पटकपटक यसका लागि आवाजहरु उठिरहेका थिए । इलाका प्रशासन कोहलपुरमा स्थापना हुने भएपछि धेरै सहज हुने विश्वास लिइएको छ ।
कोहलपुरमा इलाका प्रशासन कार्यालय स्थापना हुन कसैले रोक्न नसक्ने कोहलपुर नगर विकास समिति अध्यक्ष लक्ष्मणराज पौडेलले बताए । पटक–पटक डेलिगेशनमा सहभागी भएका उनले केन्द्रीय तहमा निर्णय भई कार्यालय स्थापनाको टुङ्गो लागिसकेको जानकारी दिए । उनले नगर विकास समितिकै खाली रहेको भवनमा इलाका प्रशासन स्थापना गरिने जानकारी दिए ।
जसका लागि एक दिन अघि आइतबार प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थ सहित सुरक्षा निकाय, राजनीतिक दलका प्रतिनिधी सहितको टोलीले भवन निरीक्षण गरिसकेको छ । अन्यत्र कार्यालय स्थापनाका लागि भवन नपाएपछि नगर विकास समितिको खाली भवनलाई नै इलाका प्रशासन कार्यालय स्थापना गर्न सहमत भएको पौडेलले बताए ।
कार्यालय स्थापनाका लागि सम्झौता हुन बाँकी रहेको र सबै प्रक्रियाहरु अगाडि बढाइसकिएको नगरविकास समितिले जनाएको छ । हालको भवनमा केही भौतिक संरचना मर्मत गरी जेठको पहिलो साताभित्र कार्यालय स्थापना हुने नगर विकास अध्यक्ष पौडेलको भनाई छ ।

प्रकाशित मितिः मङ्लबार, बैशाख १४, २०७३     9:04:38 AM  |