संघको अध्यक्षमा महतरा निर्वाचित



कोहलपुर, बैशाख ९
प्रजातन्त्रवादी प्राध्यापक संघ बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसको तेस्रो अधिवेशनबाट अध्यक्षमा प्राध्यापक टेकेन्द्र कुमार महतरा निर्वाचित भएका छन् । जसको उपसभापतिमा एकराज शर्मा, सचिव हरि प्रसाद अधिकारी, कोषाध्यक्ष घनश्याम यादव र सहसचिव मीन बहादुर के. सी. निर्वाचित भएका छन् । त्यस्तै सदस्यमा पूर्ण प्रसाद ढकाल सर्वसम्मत चयन भएका छन् भने अरु बाँकी सदस्यहरु अध्यक्षले आगामि बैठकमा मनोनित गर्ने निर्णय भएको छ ।
कोलहपुरमा बिहीबार भएको कार्यक्रममा प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठले प्रजातन्त्रीक मूल्य मान्यतालाई आत्मासाथ गर्दै प्रजातन्त्रवादी प्राध्यापक संघमा आवद्ध शिक्षकहरुको हक र हितका पक्षमा लाग्न निर्वाचित कार्य समितिलाई आग्रह गरेका छन् । त्यस्तै कार्यक्रममा नेपाली काँग्रेस कोहलपुर गाउँ कार्य समितिका सभापति बलाराम शर्माले नेपाली काँग्रेस र प्रजातन्त्रवादी प्राध्यापक संघ बिच समन्वय गरी प्रजातन्त्रीक बिचारधारलाई बलियो बनाउनु पर्नेमा जोड दिए । कार्यक्रममा प्रजातन्त्रवादी प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका अध्यक्ष अशोक बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै नव निर्वाचित अध्यक्ष टेकेन्द्र कुमार महताराले बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको बृहत् विकासका लागि प्रजातन्त्रवादी प्राध्यापक संघ लागि पर्ने बताए ।
साथै जेष्ठ २७ र २८ गते पोखरामा हुने प्रजातन्त्रवादी प्राध्यापक संघको राष्ट्रिय महाधिवेशनका लागि बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसबाट टेकेन्द्र कुमार महतारा र हरि प्रसाद अधिकारीलाई महाधिवेशन प्रतिनिधिमा छनोट गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७३ वैशाख ९ गते बिहीबार