26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

ट्यांकरबाट पम्पमा ठगी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख ९, २०७३  

केशव राना
कोहलपुर, बैशाख ९
२०७२ चैत्र २८ गते गनापुरस्थित गणेश सप्लायर्समा झारेको पेट्रोल तोकिएको परिमाण भन्दा १४६ लिटर कमी (लस) देखियो । ३९८८ लि. पेट्रोल भनिएपनि १४६ लिटर पेट्रोल लस देखिएपछि पम्प सञ्चालक पशुपती दुलाल अक्क न वक्क भए ।
पहिले पनि तोकिएको परिमाण भन्दा केही कमी आउने गरेको भएपनि अस्वभाविक रुपमा यति ठूलो मात्रामा पेट्रोल कम देखिएपछि उनले मध्यपश्चिम पेट्रोलियम डिलर्स एशोसियनमार्फत आयल निगममा जानकारी गराए ।
‘मेरोमा मात्रै कम होइन, अन्य पेट्रोल पम्पमा पनि डिजल, पेट्रोलको परिमाण कम देखिएको छ’ दुलालले भने । एक हजार लिटरमा ०.२५% का दरले कमी आउनु स्वभाविक भएपनि यति ठूलो परिमाणमा कमी आउनु अस्वभाविक भएको उनको भनाई छ । ‘कुनै ट्यांकरबाट झारेकोमा पुग्ने, कुनै ट्यांकरबाट नपुग्ने हुन्छ’ उनले भने ‘केही ट्यांकरहरुले फटाई गरे जस्तो लाग्छ ।’
गणेश सप्लायर्समा मात्रै होइन कोहलपुर, नेपालगञ्ज लगायतका विभिन्न पेट्रोल पम्पमा भारी मात्रामा पेट्रोलियम पदार्थको परिमाणमा कमी आउने गरेको पम्प सञ्चालकहरु बताउँछन् । जसका कारण पेट्रोल पम्प व्यवसायीहरु अहिले तेल उठाउन हिच्किचाउने गरेका छन् । कतिपय पेट्रोल पम्पहरुले यसैकारण पनि तेल नउठाउने जनाउ दिएका
छन् । जसका कारण  बजारमा पेट्रोलियम पदार्थको पुनः हाहाकार हुने संकेत देखा परेको छ । यता पेट्रोल पम्पमा धेरै कम परिमाणमा तेल दिने एउटा ट्यांकरलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको छ । सो ट्यांकर नेपाल पेट्रोलियम ढुवानी महासंघका अध्यक्ष खगेश्वर बोहराको रहेको स्रोतले जनाएको छ । महासंघका अध्यक्षको ना ५ ख १६३ नम्बरको ट्यांकरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको छ ।
सो ट्यांकरलाई ‘क्यालिब्रेसन’ (ट्यांकी नापजाँच) का लागि भारतको गोण्डा डिपोमा पठाइएको क्षेत्रिय आयल निगम नेपालगञ्जका प्रमुख बिनितमणि उपाध्यायले जानकारी दिए । उनले भने ‘शंका लागेका कारण सो गाडीलाई पुनः क्यालिब्रेसन गर्न आइओसीलाई पत्राचार गरी गाडी पठाएका छौं ।’
सो गाडीमा १२।१२ को डिप नाप्ने प्लेट हुनुपर्नेमा ८।८ को हालेको र प्लेट पनि सारेको पाइएको स्रोतले जनाएको छ । जसका कारण डिप रडले नाप्दा तेल धेरै परिमाणको देखिन्छ । साथै सिल पनि बजारमा किन्न पाइने भएकाले बीचबाटोमै तेल चोरी गरेर पुनः सिल लगाउने गरिएको स्रोत बताउँछ ।
यस विषयमा नेपाल ढुवानी महासंघ अध्यक्ष खगेश्वर  बोहरासँग टेलिफोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन  सकेन ।
आयल निगममा पेट्रोल पम्प व्यवसायीहरुको तोकिएको परिमाण भन्दा धेरै कम तेल आउने गरेको गुनासो व्यापक रुपमा आउने गरेका छन् । ‘व्यवसायीहरुको गुनासो आइरहेको छ’ उनले भने ‘त्यसका लागि पेट्रोलियम डिलर्स एशोसियसनका एकजना प्रतिनिधि राखेर उहाँहरुकै रोहबरमा पेट्रोलियम पदार्थ लिएर जान आग्रह गरेका छौं, अहिलेसम्म आधिकारिक प्रतिनिधि पठाउनुभएको छैन ।’ कुनै ट्यांकरबाट पेट्रोलियम पदार्थको परिमाणमा लस भएको जस्तो लागेमा ती गाडीहरुका नम्बर आफूलाई दिन उनले आग्रह समेत गरेका छन् । क्षेत्रिय आयल निगममा क्यालिब्रेसन टावर निर्माण भैरहेको छ । दुई महिनाभित्र निर्माण सम्पन्न भई गुणस्तर र नापतौल कार्यालयले टाँचा लगाएर अनुमती दिएपछि क्यालिब्रेसन गर्न सहज हुने निगम प्रमुख उपाध्यायले बताए । टावर निर्माणपछि नियमित रुपमा क्यालिब्रेसन गरिने उनको भनाई छ । साथै उनले पेट्रोल पम्प व्यवसायीहरुलाई अण्डर ग्राउण्ड ट्यांकलाई फिजिकल क्यालिब्रेसन गराउन सुझाएका छन् ।

प्रकाशित मितिः बिहिबार, बैशाख ९, २०७३     8:58:39 AM  |