26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

निकुञ्जले ६१ थान अवैध हतियार प्रहरीलाई बुझायो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख ८, २०७३  

केशव राना
कोहलपुर, बैशाख ८
बाँके राष्ट्रिय निकुञ्जले संकलन गरेको अवैध हातहतियार मंगलबार जिल्ला प्रहरी कार्यालय बाँकेलाई हस्तान्तरण गरेको छ । बाँके राष्ट्रिय निकुञ्ज अन्तरगत मध्यवर्ती क्षेत्रमा पर्ने दाङको पुरन्धारा, पञ्चकुले, गोलटाकुरी गाविसबाट संकलन गरिएका ६१ थान अवैध हतियार बाँके प्रहरीलाई बुझाइएको हो ।
२१ औं वन्यजन्तु सप्ताहको अन्तिम दिन निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईलाई सो अवैध हतियार हस्तान्तरण गरे । सो हतियार बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थको रोहबरमा हस्तान्तरण गरिएको
हो । संकलन गरिएको ६१ थान अवैध हातहतियार मध्ये ५६ थान भरुवा बन्दुक र ५ थान व्यारोल रहेको निकुञ्जले जनाएको छ ।
निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना, चोरी शिकारी नियन्त्रण, मध्यवर्ती क्षेत्र व्यवस्थापन समन्वय समिति र त्यस अन्तरगतका समूहका अगुवाहरुको सक्रियतामा ती अवैध हातहतियार संकलन गरिएको हो ।
चोरी शिकारी तथा अवैध गतिविधि गर्ने उद्देश्यले राखिएका ती अवैध हतियार जनताले आफुखुशी नै बुझाएको सो कार्यमा संलग्न चोरी शिकारी नियनत्रण समितिका अध्यक्ष टेकबहादुर पुनले जानकारी दिए । उनले नेपाली सेनासहितको संयुक्त टोलीले जनतालाई स्वतःस्फूर्तरुपमा बुझाउने वातावरण सृजना गरेर हतियार संकलन कार्य सफल भएको बताए । जनतालाई पूर्व सूचना गरेपछि उनीहरुले कुनै वाधाअवरोध आफुसंग भएका हतियार बुझाएको र यो अभियान जारी रहेको निकुञ्जले जनाएको छ । निकुञ्जले यसअघि फागुन १६ गते १८ थान भरुवा बन्दुक र नाल मात्र भएको ३ थान अवैध हतियार संकलन गरी प्रहरीलाई बुझाएको थियो । यसैबीच वन्यजन्तु सप्ताहको समापन समारोहमा जैविक विविधता संरक्षण, चोरी शिकारी नियन्त्रणमा योगदान पु¥याएका नेपाली सेना, संरक्षणकर्मी, पत्रकार लगायतलाई सम्मान गरिएको थियो । यस्तै निकुञ्जले ३३ जनालाई राहत रकम हस्तान्तरण गरेको छ । मध्यवर्ती क्षेत्रमा वन्यजन्तुले पशु चौपायामा पु¥याएको क्षतिको २५ प्रतिशत राहत रकम निकुञ्जले हस्तान्तरण गरेको हो । राहत रकम प्राप्त गर्नेमा कोहलपुर मध्यवर्तीका १३, महादेवपुरीका ७, देउराली हरियालीका १० र राजकोटका ३ रहेका छन् ।
यस्तै निकुञ्जले सरोकारवालवीच बाघ संरक्षण सम्बन्धी अन्तरक्रिया गरेको छ । सहभागीहरुले वन्यजन्तु संरक्षणमा चासो रहँदा रहँदै पनि आसपासका मानिस, पशु चौपायालाई हानि नोक्सानी गर्दा समस्या उत्पन्न गरेको बताए । क्षति हुँदा पनि पशु चौपायको मात्र न्यून क्षतिपूर्ति मिल्ने भएकाले अब बालीको समेत क्षतिपूर्तिको व्यवस्था गर्न र राहत रकम बढाउन माग गरेका छन् ।
मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अध्यक्ष सावित्रा पुनको सभापतित्वमा भएको कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, जिल्ला वन कार्यालय बाँके प्रमुख पुष्पराज वर्तौला, गोरखदल गणका गणपति जयन्द्र केसी, सुरक्षाकर्मी, मध्यवर्ती क्षेत्रका पदाधिकारी लगायतको उपस्थिति रहेको
थियो ।

प्रकाशित मितिः बुधबार, बैशाख ८, २०७३     8:51:04 AM  |