वन्यजन्तु सप्ताह



प्रेम पुन
प्रत्येक वर्ष बैशाख १ गतेदेखि ७ गतेसम्म राजकीय पञ्चाङ्गीहरुको कर्मकाण्डी नयाँ नाराका साथ मनाईने वन्यजन्तु सप्ताह मनाउन सदा झैं हामी पञ्चाङ्ग निर्णायकहरुको तालुकदारहरुलाई भ्याई नभ्याई छ । यस वर्ष पनि हामी संरक्षणमा लागेका पुछारका अभियान्ताहरुले वन्यजन्तुको संरक्षणमा खेलेको भूमिकाको ख्यातीले सिरानका कतिले तक्मा पाउलान् भने कतिले तेजारथ अड्डाको स्यावासी पाउलान् तर पुछारका नगण्यले अवसर जुरेमा मुख मिठो बनाएर चित्त बुझाउलान् ।
यसरी नै वन्यजन्तु सप्ताहले २१ वर्ष पुरा गरी सक्दा पनि वन्यजन्तु संरक्षणमा आपूmलाई अब्बल मान्ने र ठेकेदारी गर्ने राज्यका उच्च तहका व्यक्तिहरुले वन्यजन्तुको संरक्षणमा जनताको सहभागीताको महसुश गरे तर खाँचो नै परेको देखेनन् । वन्यजन्तुको मुख्य संरक्षणको अभिभावकीय भूमिका निर्वाह गरीरहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सालवसाली यो कार्यक्रम गर्नु आफैंमा स¥हानीय कार्य
हो । तथापि निकुञ्ज क्षेत्रको वरपर रहेको मध्यवर्ती क्षेत्रमा वसोवास गर्ने समुदायहरुलाई संरक्षण अभियानमा साथसाथै लिएर अगाडि बढ्न सके सारभूत उद्देश्य प्राप्त हुन सक्दछ । मध्यवर्तीका वासिन्दा दैनिक जसो वन्यजन्तुबाट आक्रान्त बनेका छन् र कष्टपूर्ण जीवन निर्वाह गरिरहेका छन् । वर्ष भरी खाने अन्न बाली र एकसरो आङ टाल्न पालिएका पशु चौपायाहरु गुमाउनु परिरहेको अवस्था छ । दश हजारको खसी वन्यजन्तुबाट नोक्सान भयो भने मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले जेनतेन जोहो गरेको राहत कोषबाट पच्चीस सय पाउँदा राहतको विषयमा खिसीटिउरी गर्नेहरुको लर्काे पनि लामै छ । राहत र क्षतिपूर्तिको कुनै त्यस्तो व्यवस्था राज्यबाट हुन सकिरहेको छैन । मध्यवर्तीका वासिन्दा र वन्यजन्तुबीच एक खालको द्वन्द्व सृजना भएको छ । वन्यजन्तु र मान्छेबीचको द्वन्द्वलाई समझदारीमा रुपान्तरण गर्दै उनीहरुबीच एकआपसमा भावनात्मक सम्बन्धको विकास गर्नु जरुरी देखिएको छ । त्यसका लागि मधयवर्ती क्षेत्रका वासिन्दाको जिविकोपार्जन र संरक्षण अभियानलाई सँगसँगै जोडेर लैजान स्पष्ट नीति र कानून बनाउनु पर्ने टड्कारो आवश्यकता परेको छ । तर नीति निर्माताहरु गम्भीर भएर यस तर्फ उतिसारो चासो दिएर लागे जस्तो लाग्दैन । राजनैतिक दलका प्रतिनिधिहरु चुनाव जित्ने रामवाणका रुपमा यहाँका समुदायका समस्याहरु उठान गर्छन् र चुनावको नाउडुब्बी सँगसँगै पाइला पनि मेट्दै जान्छन् । नीति निर्माताहरु तिनै कृषकहरुले उत्पादन गरेका कृषिजन्य उत्पादनबाट जीवन धानीरहेको कुरा मात्र सम्झिदिएको भए पनि विशेष गरी मध्यवर्तीका किसानहरुको समस्या समाधान गर्ने खालको नीति बन्ने कुरामा सघाउ पुग्ने थियो । अनि मात्र भरपर्दाे मियोको सहारामा संरक्षण अभियानमा यहाँका किसानहरु लामबद्ध हुने थिए ।
संरक्षण अभियानमा लाग्नेहरुलाई गिज्याउने र हाइगुजीमा पार्नेहरुको भिड पनि कम्ता छैन । संरक्षणका अभियान्ताहरुलाई कमजोर पार्ने र निश्क्रिय पार्ने गिरोह पनि एक किसिमले सक्रिय भैरहेका छन् । संरक्षणको सञ्जालभन्दा उनीहरुको सञ्जाल बलियो र भरपर्दाे पनि छ । संरक्षणमा लाग्नेहरुका सामु असंख्य चुनौती छन् । कतिले संरक्षणलाई बुझेका पनि छैनन् । बुझेकाहरु पनि उदासीन छन् । कति त वन्यजन्तुको व्यापारबाटै दाम, नाम र सम्मान सबै कमाउने सुरमा छन् । कतिले त संरक्षणमा लागेका हामीजस्तालाई हतोत्साहित पार्ने असफल दाऊमा पनि छन् । अझ यस भन्दा बढ्ता संरक्षणकर्मीहरुलाई खिसी गर्नेहरुको भिड अत्यधिक बढी छ ।
संरक्षणमा मैले भोगेको एउटा तितो तर सत्य अनुभव छ । २०६७ सालको कुरा हो । बाँके राष्ट्रिय निकुञ्जको कार्यालय स्थापनाको दिन साउन १३ गते निकुञ्ज स्थापनाको विरोधमा व्यानर सहित नारा जुलुस गर्दै कोहलपुर चौराहा केन्द्रित आन्दोलनमा सहभागी हुन जाँदै थियौं । सडक किनाराका मान्छेहरु हाम्रो आन्दोलनका विषयलाई लिएर खासखुस गर्दै थिए । “सामुदायिक वनका मान्छेहरु अब रुख काटेर बेच्न पाइँदैन, सामुदायिक वनका ठूलाबडाको मनमोजी थियो, अब त्यो सबै गर्न पाइँदैन भनेर निकुञ्जको विरोध गरिरहेका छन्” यस्तै यस्तै ……..समय गतिशील छ । परिस्थिति परिवर्तन भयो । जंगलसँगै जोडिएका मान्छेहरुले संरक्षणको भेऊ बुझे वा सिरानका मान्छेहरुको गणपति भक्ति पलायो थाहा भएन उनीहरु संरक्षण अभियानमा जुटे । अन्तर्राष्ट्रिय बाघ दिवसको सन्दर्भमा “बाघ बचाऔं, जैविक विविधताको संरक्षण गरौं” भन्दै तिनै मान्छे कोहलपुरको सडकमा लामै लाइन लागे । कोहलपुरको त्यही सडक किनारामा फेरी त्यस्तै मान्छेहरुको खासखुस चल्यो । “यि मुर्खहरु एक गास समोसामा बाघ बचाउने नारा कनी कनी लगाई रछन् । भोलि घरभित्रै बाघ पसेर खान्छ अनि मात्र थाहा पाउँछन्” यस्तै यस्तै …..मलाई मान्छेको द्वेध र विचित्र चरित्रप्रति मन कुंडिएर आयो । मान्छेहरुले देखाएको विवेक देखेर मन कट्कटियो । हिंजो मात्रै वन्यजन्तु सप्ताहकै सन्दर्भमा कोहलपुरको चौराहामा सरसफाई कार्यक्रम गरिंदै थियो तिनै भद्र जस्ता देखिने रमितेहरुले फेरी पनि भनेको र खासखुस गरेको सुनियो, “आज एक दिन मात्रै गरेर हुन्छ र ? डलर पचाउनलाई त होला नि?” ति भद्रहरुले चौराहाको वरपर फोहर फाल्नेहरुलाई देखे पनि होलान् । कति त आफैंले पनि गरे होलान् । तर हामीलाई गिज्याउने शब्द ति फाहोर गर्नेहरुलाई निस्तेज पार्न प्रयोग गरेको भए कति वेश हुन्थ्यो होला । असल कामको प्रशंसा र गलत कामलाई निरुत्साहित गर्ने बानी हामीमा भएन । तथापि वन्यजन्तु संरक्षणका सिरानका अभियान्ताहरुलाई यस वर्षको वन्यजन्तु सप्ताहले वन्यजन्तुसँगै पौंठेजोरी खेल्दै उनीहरुको सुरक्षा र हेरचाहमा खबरदारी गरेर बसीरहेका ति अमुक मान्छेहरुको जीवन स्तर उकासी उनीहरुलाई अझ संरक्षण अभियानमा लाम लागेर लाग्न प्रेरित गर्ने एउटा गतिलो संरक्षण योजना गर्भाधान गराउन चेत खुलोस् शुभकामना । जय संरक्षण ।

  • No tags available
प्रकाशित मिति : २०७३ वैशाख ६ गते सोमबार