पत्रकारको शुद्धिकरण अभियान चलाइनेः विष्ट



कोहलपुर,चैत्र २२
नेपाल पत्रकार महासंघका केन्द्रय अध्यक्ष डा. महेन्द्र बिष्टले पत्रकारहरुको क्षमता अभिवृद्धि र शुद्धिकरणका लागि अभियान चलाउने बताएका छन् । आइतवार नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा बाँकेका पत्रकारहरु संग गरिएको अन्तर्कृया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
पत्रकारको सुरक्षाको लागि स्वास्थ्य विमाका थालनी गरिएको बताँउदै अध्यक्ष बिष्टले अवको परिपाटीमा पत्रकारहरुको जिविको पार्जन र समाजिक न्यायका लागि कटिवद्ध रुपमा अगाडि बढ्ने बताए । पत्रकारहरुको लागि क्षमता अभिबृद्धि गर्न अभिमुखिकरणको खाँचो रहेको उनको जोड थियो ।
पत्रकारहरुलाई नामले भन्दा कामले चिनाउनका लागि पत्रकारको लागि सञ्चार प्रतिष्ठानको आवश्यकता रहेको बताउँदै अध्यक्ष बिष्टले पत्रकारलाई ब्यवसायीक दक्षता बनाउनका लागि तालिम तालीमकेन्द्रको स्थापना गरिने बताए । महासंघमा सक्रिय भन्दा निष्कृय पत्रकारहरुको बर्चश्व रहेको बताउँदै उनले सदस्यता शुद्धिकरणलाई अभियानकै रुपमा लगिने बताए । पत्रकारलाई राम्रो तलव दिएपछि मात्र पत्रकारले राम्रो काम गर्ने बताउँदै उनले पत्रकारहरुमा प्रतिस्पर्धा गर्ने क्षमता हुनै पर्ने कुरामा जोड दिए ।
स्थानिय विज्ञापन स्थानिय मै व्यवस्था गर्न केन्द्रदेखि लविङ्ग गर्ने उनले बताएका छन् । मिडियामा पत्रकारको सेवा सुविधा र पारिश्रमिकलाई पहिलो प्रथामिकतामा राख्न आग्रह गरे । कार्यक्रममा बाँकेका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७२ चैत २२ गते सोमबार