मिटर निकालेर खानेपानी चोरी भएपछि उपभोक्ता समस्यामा



केशव राना
कोहलपुर, चैत्र २१
कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले वितरण गरेको खानेपानी चोरी भएपछि उपभोक्ताहरु समस्या परेका छन् । पानी चोरी भएपछि उपभोक्ताका ट्यांकीमा पानी नचढ्ने, कहिलेकाँही पानी नै नआउने, सानो मात्रामा पानी आउने समस्या छ ।
ट्यांकीमा पानी नचढेपछि दैनिक कामकारबाहीमा समस्या भएको उपभोक्ताहरुले गुनासो गरेका छन् । खानेपानी चोर्नेमा पनि सामान्य व्यक्ति भने छैनन् । समाजका प्रतिष्ठित व्यक्तिहरु नै खानेपानी चोरीमा संलग्न रहेको आर्थिक, प्रशासन, प्राविधिक फिल्ड अनुगमन उपसमिति संयोजक यमबहादुर रावतले जानकारी दिए ।
अनुगमन उपसमितिले अनुगमनलाई तीव्रता दिएको छ । अनुगमनका क्रममा हालसम्म पानी चोरीमा संलग्न १६ घरधुरी भेटिएको संयोजक रावतले
बताए । उनीहरुले मिटर निकालेर अवैध रुपमा पानी चोरी गरी दुरुपयोग गरेको पाइएको उनले बताए ।
खानेपानीले सूचना निकालेर खानेपानीको दुरुपयोग नगर्न र गरेमा कारबाही गर्ने बताएपनि समस्या भने ज्युँका त्यूँ नै छ । अहिलेसम्म कारबाहीको प्रक्रिया अघि बढाउन सकेको छैन । ‘पहिलो चरणमा सचेत गराएका छौं’ संस्थाका उपाध्यक्ष तथा अनुगमन उपसमितिका संयोजक यम रावतले भने ‘फेरि पनि त्यस्तो गरेको पाइएमा कारबाही प्रक्रिया अगाडि बढाउनेछौं ।’
चोरी प्रमुख कारण देखिएपनि चुनाका कारण पनि समस्या भएको छ । चुनाले ठाउँठाउँमा जाम गरिदिने गरेको संस्थाले जनाएको छ । साथै पाइप पनि कहीँ ठूलो र कहीँ सानो भएका कारण पनि खानेपानीको आपूर्तिमा समस्या भएको
छ ।

  • No tags available
प्रकाशित मिति : २०७२ चैत २१ गते आइतबार