2 October 2023  |   मङ्लबार, अशोज १६, २०८०

‘नयाँ सोच र विचारका साथ अगाडि बढ्नेछौं’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, चैत्र १९, २०७२  

जिल्ला सहकारी संघले अहिले ५९ राष्ट्रिय सहकारी दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम गरिरहेको छ । सप्ताहव्यापी कार्यक्रम र सहकारीका बारेमा जिल्ला सहकारी संघ बाँके अध्यक्ष प्रेम सुवेदीसँग गरिएको कुराकानी । 

१. टकटाइममा स्वागत छ ?
– धन्यवाद ।
२. के मा व्यस्त हुनुहुन्छ आज भोली ?
– ५९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा साप्ताहव्यापी कार्यक्रम गरेका छौं । त्यसमै व्यस्त छु ।
३. सहकारी सप्ताह कार्यक्रम कस्तो चल्दै छ ?
– १५ गतेबाट सहकारी साप्ताह कार्यक्रम सुरु गरेका हौं । १५ गते खजुरामा ५५ जनाले रक्तदान गरे, १६ गते कोहलपुुरमा १३० रक्तदान गरे भने १७ गते नेपालगञ्जम १४९ जनाले रक्तदान गरेका छन् । साथै १७ गते सुर्खेतका एक जना सहकारीकर्मी रगत अभावका कारण बिरामी भएको थाहा पाए पछि सहकारी दिवसको अवसरमा उहाँलाई हामीले रगत उपलब्ध गरायौं । १८ गते हाजिरीजवाफ, १९ गते पत्रकार सम्मेलन र २० गते राष्ट्रिय सहकारी दिवसको भव्यताका साथ उद्घाटन हुने छ ।
४. २० गतेको तयारी कस्तो छ ?
– अन्तिम दिनको तयारीका लागि हामीले विभिन्न उप–समिति गठन गरेका छौं । ती उपसमितिहरुले आफ्नो जिम्मेवारी पुरा गर्ने छन् । करिब करिब तयारी पूरा भइसकेको अवस्था हो ।
५. जिल्लाको सहकारी अभियानको अवस्था के छ ?
– वर्तमान अवस्था हेर्दा राम्रै छ । अन्य कसैले गर्न नसकेका कुरा कामहरु हामीले पूरा गरेका छौं । अन्य व्यवसायीहरु भन्दा फरक तरिकाको व्यवसायी हो । बाँके हाल ४२१ वटा सहकारी संस्थाहरु रहेका छन् ।
६. बाँकेमा कतिवटा सक्रिय र निष्क्रिय छन् सहकारीहरु ?
– ४२१ मध्ये ३० वटा त निष्क्रिय नै छन् । ती सहकारी कार्यालयहरु नै कहाँ छन् हामीलाई थाहा छैन ।
७. निष्क्रिय सहकारीहरु खारेज भएका छन् कि छैनन् ?
– निष्क्रिय सहकारीहरु खारेज भइरहेका छन् । गतवर्ष पनि केही सहकारीहरु खारेज भए ।
८. भर्खरै एउटा सहकारीका ठगि मुद्दामा ११ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्, सहकारीमा यस्तो चाँही किन हुन्छ ?
– सहकारीको नमुना विश्वले मानेको छ । नियतमा खराब भएका मान्छे सहकारीमा आउँदा यस्तो हुनेगरेको पाइन्छ । सहकारी क्षेत्रलाई आफ्नो निजी क्षेत्र बनाए । एउटा व्यक्तिको निर्णयबाट चल्ने सहकारी धराशायी हुने गरेको पाइन्छ ।
९. सहकारी अभियानलाई व्यवस्थित गर्न सरकारले के गर्नु पर्छ ?
– सबै कुरा सरकारले नै गर्ने हो । हामीले पनि सहकारी स्वायत्त भन्छौं अनि सबै कुरा सरकारले गर्ने पनि भन्छौं । हामी पनि विवादमा छौं की राज्यले सहकारी प्रति हेर्ने दृष्टिकोण सहि हुनु पर्छ । वर्तमान अवस्थामा हेर्दा अन्य देशको तुलनामा हाम्रो देशमा सहकारीलाई प्राथामिकता दिएको पाइदैन । राज्यले सहकारीको क्षेत्रमा विभिन्न योजनाहरु ल्याउनुपर्छ ।
१०. तपाई सहकारी अभियानमा कहिले देखि लाग्नु भयो ?
– म २०६० साल देखि सहकारी अभियानमा लागेको हुँ ।
११. तपाईले अहिले सम्म सहकारीलाई के योगदान दिनुभयो ?
– जुन दिन देखि सहकारी क्षेत्रमा लागे, त्यो दिन देखि नै सहकारीमै छु । मैले यो योगदान दिएँ, त्यो योगदान दिएँ भन्दा पनि सहकारी अभियानमा म एक रुपैंया पनि नलिएर काम गरिरहेको छु । करिब १२ वर्ष पूर्ण रुपमा सहकारीमै काम गरेर बिताएको छु ।
१२. सहकारीमा राजनीतिक प्रभाव कत्तिको छ ?
– सहकारीमा राजनीतिक प्रभाव हुनुहुँदैन । सहकारी क्षेत्र भनेको सबै राजनीतिक दल, विभिन्न भाषा, जात जाति, लिङ्ग, वर्ण र समुदाय पेशाका मान्छेहरु हुने स्थान हो । सहकारी सबैको साझा फुलबारी हो । राजनीतिक दलहरु भन्दा बाहिरको मान्छे छैन । त्यसैले कहिले काँही त्यस्तो प्रभाव देखिन्छ ।
१३. पाटीकै आर्शिवादका कारण तपाई अध्यक्ष बन्नु भएको हो, भन्छन् नि ?
– मलाई त्यस्तो लाग्दैन । ४२१ वटा सहकारीको आशिर्वादले म अध्यक्ष भएको हुँ ।
१४. सहकारी अभियानलाई व्यवस्थित गर्न संघका भावी योजनाहरु के कस्ता छन् ?
– अहिले जिल्ला सहकारीमा युवाहरु आएका छौं । नयाँ सोच र विचारका साथ अगाडि बढ्नेछौं ।
१५. अन्त्यमा के भन्नु छ ?
– आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी भन्ने यस वर्षको नारा रहेको छ । सहकारी बिना आर्थिक विकास सम्भव छैन । सबै शेयर सदस्यहरुलाई सहकारी क्षेत्रमा काम गर्न आग्रह गर्छु । सहकारीमा गल्ती मान्छेलाई हामी छोड्दैनौं । ठगि गर्ने सहकारी सञ्चालकलाई अहिलेको ऐन अन्तरगत विगो बराबरको जरिवाना र ५ वर्षको कैद सजायको व्यवस्था भएको हुनाले जस–जसले बचत गर्नुभएको छ, उहाँहरुको बचत फिर्ता हुन्छ । केही समय भने लाग्न सक्छ ।

‘टकटाईम विथ केशव’ मिसन मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित कार्यक्रम हो । हामी हप्ताको ३ दिन मंगलबार, बिहीबार र शनिबार रेडियो प्रतिबोध एफएम १०२.४ मेगाहर्जको तरंगमा बिहान ८ बजे र पुनः प्रशारण दिउँसो ३ बजे तपाईमाझ यो कार्यक्रम लिएर आउने गर्दछौ । रेडियोबाट प्रशारित कुराकानीको संक्षिप्त अंश कार्यक्रम प्रशारणको भोलिपल्ट मिसन टुडे दैनिक र सोही दिन मिसन न्यूज डटकम लगअन गरेर पनि पढ्न र सुन्न सक्नुहुनेछ ।  

प्रस्तुतीः केशव राना

प्रकाशित मितिः शुक्रबार, चैत्र १९, २०७२     2:44:59 PM  |