चैत १८ । आजदेखि एसएलसी परीक्षा सुरु भएको छ । पहिलो दिन आज बिद्यार्थीहरुले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका छन् । बाँकेमा आजको परीक्षा शान्तिपूर्ण, मर्यादित र अनुशासित भएको जिल्ला शिक्षा अधिकारी भीमबहादुर साउदले बताउनुभयो । मध्यपश्चिममा पनि जाजरकोटको एउटा केन्द्र बाहेक सबैतिर शान्तिपूर्ण तरिकाले पहिलो दिनको परीक्षा सम्पन्न भएको क्षेत्रीय शिक्षा निर्देशनालय सुर्खेतका परीक्षा फाँटका शाखा अधिकृत उत्तमप्रसाद आचार्यले बताउनुभयो ।
जाजरकोटको पैंक परीक्षा केन्द्रमा स्थानीय बासिन्दाले ढुंगा हान्दा एक प्रहरी घाइते भएका छन् । अंग्रजी विषयको परीक्षामा जनता उच्च मावि पैंक केन्द्रमा प्रवेश गर्दा विद्यार्थीलाई चेकजाँच गरेर चिट खोसेको भन्दै स्थानीय बासिन्दाको ढुंगा प्रहारबाट प्रहरी जवान अमर नेपालीको दाँत झरेको जिल्ला प्रहरी प्रमुख दानवहादुर मल्लले बताउनुभयो । नेपालीको पैंक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरेर थप उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।
प्रतिक्रिया दिनुहोस्