23 September 2023  |   शनिबार, अशोज ६, २०८०

विदेशबाट फर्किएका यूवा तरकारी खेतीमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, चैत्र १७, २०७२  

बर्दिया, चेत्र १७
बर्दिया बाँसगढी नगरपालिकाको विकट मानिने बेलवा राँझाका युवाहरु अहिले सामुहिक तरकारी खेतीमा जुटेका छन् । वैदेशिक रोजगारीबाट फर्केका दश युवा मिलेर सामुहिक तरकारी खेती गरिरहेका छन् ।
करिब २ बिगाहा जग्गा भाडामा लिएर ८ जना युवा खाडी मुलुकबाछ र २ जना भारतबाट फर्केका युवाहरु मिलेर सामुहिक तरकारी खेती गरिरहेका हुन् । साउदीमा ७ बर्ष बिताएका दलबहादुर खत्री अहिले गाँउमै तरकारी खेतीमा रमाइरहेका छन् । अर्काको देशमा गएर १२ घण्टा काम गर्नु भन्दा आफनै देशमा केही गर्नु पर्छ भन्ने मनसायले तरकारी खेती तिर लागेको उनले बताए ।
भारतमा धेरै घुमेका टेकबहादुर गुरुङ पनि सामुहिक तरकारी खेतिमा डटेर लागेका
छन् । उनले भने ‘अर्काको देशमा गएर दुख र मेहनत गर्नु भन्दा आफ्नै खेतबारीमा काम गर्दा आन्नद मिलेको छ ।’
सरकारले कृषि पेशा गर्न चाहाने युवाहरुलाई अनुदान तथा बिभिन्न तालिम पनि दिने गर्दछ । तरकारी खेती सम्बन्धी जानकारी नभएकोले तालिमको आवश्यकता रहेको अर्का युवा बमबहादुर बुढाथोकीले बताए । गाउँ घरमै तरकारी खेतीबाट केही गर्ने हौसला, सहयोग र प्रेरणा स्थानीय समाजसेबी घमण्ड चन्दबाट पाएको उनीहरुको भनाई छ ।
चन्दले गाउँ घरमै मेहनत र परिश्रम गरे गर्न सक्ने धेरै आधारहरु रहेको भन्दै एकै पटकमा धेरै नाफा लिन नसके पनि क्रमिक रुपमा लागिरहे सफल भइने बताएका छन् ।
नवदुर्गा कृषि सहकारी संस्था बेलवा राँझाले बिना धितो १ लाख र कृषि सेवा केन्द्र मैनापोखरले दिएको २० हजार अनुदानमा सुरु गरेको तरकारी खेतिमा अहिले खुर्सानी, फर्सि, टमाटर, लौका, करेला, काँक्रा लगायत ११ थरीका तरकारी लगाइएको छ ।
आफुले उत्पादन गरेको तरकारीको बजार व्यवस्थापन गर्न समस्या रहेकाले सबैले सहयोग गर्न उनीहरुले आग्रह गरेका
छन् ।

प्रकाशित मितिः बुधबार, चैत्र १७, २०७२     1:31:59 PM  |