20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

बाँके सहकारीका ११ जना पुर्पक्षका लागि कारागार चलान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, चैत्र १६, २०७२  

राम बहादुर रावत
कोहलपुर, र्चेत्र १५
बाँके जिल्ला अदालतले बाँके बचत तथा ऋण सहकारी संस्थाका ११ जनालाई ठगी मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरेको छ । उनीहरुलाई अदालतले फागुन १९ गते नै पुर्पक्षका लागि कारागार चलान गरेको हो भने अन्य दुई जना फरार रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
बाँके बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी, शाखा प्रमुख र कर्मचारीले बचत तथा शेयरकर्ताको बचत गरको रकम हिनामिना गरेको भन्दै उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । प्रक्राउ परेकाहरुलाई जिल्ला अदालत बाँकेले पुर्पक्षका लागि कारागार चलान गरेको छ भने ठगी गरी फरार रहेका दुई जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
पुर्पक्षका लागि कारागार चलान हुनेमा बाँके बचत ऋण सहकारी संस्थाका कार्यकारी निर्देशक बैजापुर १ का खिमु श्रेष्ठ, सोही ठाउँका ऋण अधिकृत सुशिल श्रेष्ठ, उपाध्यक्ष तथा राँझा सेवा केन्द्र प्रवद्र्धक, कोहलपुर ११ बाँकेकी समिक्षा श्रेष्ठ, संस्थाका खजान्ची नेपालगञ्ज १ बाँकेका ज्ञानेन्द्र गुप्ता, अगैया शाखा प्रमुख बैजापुर ३ की चन्द्रवती चौधरी, कोषाध्यक्ष एवम् खजुरा शाखाका प्रमुख बागेश्वरी १ बाँकेका शेषमणि सापकोटा रहेका छन् । त्यस्तै बाँके बचतका अध्यक्ष कचनापुर ८ का टेकराज डाँगी, सचिव तथा कोहलपुर शाखा सहायक खजान्ची कोहलपुर १ बाँकेकी सुरक्षा शाह, पूर्व अध्यक्ष नेपालगञ्ज ५ का पवन बोहरा, बाँके बचत कोहलपुर शाखा प्रमुख कोहलपुर १२ की कमला नेपाली, पूर्व कर्मचारी दैलेख बिन्दबासिनि २ की सिता शाहीलाई कारागार चलान गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको
छ । त्यस्तै बाँके बचतका सदस्य बेलभार १ बाँकेका ओम प्रकाश बि.क. र खजुरा शाखा खजान्ची बागेश्वरी १ की सुधा बोटे फरार रहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
बचतकर्ताको सात करोड ४३ लाख ८० हजार रुपैँयामा पाँच करोड १४ लाख ७६ हजार दुई सय ३४ रुपौयाँको हिसाब देखिएको छ । बाँकी दुई करोड ४६ लाख ३४ हजार आठ सय ७३ रुपैयाँ हिसाबकिताब नदेखिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
सहकारी संचालक र कर्मचारीले बचतकर्ता र शेयर सदस्यको रकम हिनामिना गरेको मुद्दा सहकारी डिभिजन कार्यालय नेपालगञ्जमा अहिले पनि ठगीको मुद्दा आइरहेको र कतिपय शेयर सदस्यहरुलाई थाहा नै नभएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख राजीव बहादुर बस्नेतले बताएका छन् ।
‘अब अदालतले आफ्नो कानून अनुसार नै कदम चाल्नेछ’ उनले भने ‘केही समय लाग्छ, दोषीलाई कानुन अनुसार कारबाही हुन्छ ।’ ठगी गरी फरार अरु दुई जनाको खोजी कार्य प्रहरीले तीव्र पारेको प्रमुख बस्नेतले बताए ।

प्रकाशित मितिः मङ्लबार, चैत्र १६, २०७२     5:39:42 PM  |