बर्दिया, चैत्र ४
हत्या अभियोगमा पक्राउ परेका बर्दिया ठाकुरद्वारा ४ सुतैयाका २३ वर्षिय टोपे भनिने अजिव वुढा क्षेत्री अदालतको शौचालयबाट भागेको ४ दिन हुँदा समेत अभियुक्तलाई प्रहरीले फेला पार्न सकेको छैन ।
कर्तव्य ज्यान मुद्धाका प्रतिवादी अजिव बुढाक्षेत्रीलाई फेला पार्नुहुने वा सहि सुचना दिने महानुभवलाई उचित पुरस्कारको घोषणा गर्दै जिल्ला प्रहरी कार्यालय बर्दियाले चोकचौकमा फोटो सहित सुचना टाँस गरेको छ । गहुँगोरो, ५ फिट ४ ईन्च उचाई, बाँया हातको बिचको औँलाको नङ्ग फुटेको, ४ वटा वटन भएको टिसर्ट र आर्मी कम्ब्याट जस्तो पाईन्ट लगाएको वर्ष २३ को हुलीया भएको फरार अभियुक्तलाई कहीँ कतै देखेमा प्रहरीमा खबर गरीदिन जिल्ला प्रहरी कार्यालय बर्दियाले अनुरोध गर्दै सहि सुचना दिई पक्राउ गर्न सहयोग पुर्याएमा उचित पुरस्कार दिने जनाएको छ ।
चैत १ गते बिहान ठाकुरद्वारा सुतैयाका स्थानियवासीले हत्याका अभियुक्तलाई पक्राउ गर्नुपर्ने, सुतैया गाउँवासीलाई सुरक्षा दिनुपर्ने भन्दै नारा जुलुस सहित ठाकुरद्वारा प्रहरी चौकी घेराउ गरी ज्ञापनपत्र बुझाएपछी रातदिन ठाकुरद्वारा गाविसमा व्यापक प्रहरी तैनाथ गरीएको छ । ‘अभियुक्तलाई दिनरात खोजी गरीरहेका छौँ, गाउँमै देखा परेको सुचनाका आधारमा बर्दिया प्रहरी प्रमुख एसपी भोजजंग शाहको टोली सहित सुतैयागाउँमा परिचालित छ’ डिएसपी नेत्रमणि गिरीले भने ।
बर्दिया ठाकुरद्वारा ४ सुतैयाका ६९ वर्षिय जोरे थापालाई गत फागुन ५ गते धारीलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ परेका ठाकुरद्वारा ४ सुतैयाका टोपे भनिने अजिव बुढा जिल्ला अदालतको शौचालयबाट गत फागुन ३० गते दिउस फरार भएका थिए ।
बर्दिया जिल्ला अदालतमा थुनछेक आदेश बहस चल्दै गर्दा गत फागुन ३० गते दिउस शौचालयको भेन्टीलेसनबाट भागेको प्रहरीले जनाएको छ । हत्याका अभियुक्त बुढा क्षेत्रीले अरुलाई पनि मार्ने धम्की दिएको हल्ला चलेको छ ।
फरार भएको ३० गते राती देखि सुतैया गाउँवासी त्रसित छन् । गाउँमा सुरक्षा व्यवस्था बढाईएको छ । प्रहरी प्रशासनको लापरवाहीका कारण हत्याका अभियुक्त अदालतबाटै फरार भएको भन्दै स्थानियवासीले अभियुक्तलाई तुरुन्त पक्राउ गर्न र पक्राउ नपरुन्जेल गाउँमा सुरक्षा दिन माग गरेका छन् ।
प्रकाशित मिति : २०७२ चैत ४ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्